यदि फिल्मलाई हामी कथाको ‘भिज्युअल न्यारेसन’ अर्थात् दृश्यभाषाको बलियो माध्यम मान्छौ भने अहिले हलमा रिलिज भइरहेको ‘छ माया छपक्कै’ कुनै पनि दृष्टिबाट अब्बल फिल्म हुन सक्दैन। यदि हामी फिल्म सुन्न होइन, हेर्न रुचाइन्छ, फिल्ममा कथा र उपकथाको स्थापना संवादमा भन्दा दृश्यमा खोज्छौ भने ‘छ माया छपक्कै’ हाम्रो रोजाई हुन सक्दैन।
दुई घन्टा २५ मिनेट लामो यो फिल्मलाई हामीले आँखा बन्द गरेर अडियोमा मात्रै सुनिरह्यौ भने पनि यसले भन्न खोजेको कथा र दिन खोजेको सन्देश सहजै बुझिन्छ।
दीपकराज गिरीको पटकथामा तयार हुने हरेक फिल्ममा देखिने एउटा प्रमुख समस्या के हो भने त्यहाँ उनी बढी नै हाबी भइदिन्छन्, निर्देशक लगभग ओझेलमा पर्छन्। त्यहाँ उनले लेख्ने अनुप्रास मिलेका संवाद यसरी उपस्थित हुन्छन् कि निर्देशकले आफ्नो सिर्जनशिलता प्रस्तुत गर्ने ठाउँ पाउँदैन।