खेलकुदबाट नयाँ पुस्ता टाढिदै,मोबाइलमा बित्दै छ समय: मुख्यमन्त्री राउत

तस्बिरः विमला गुप्ता

मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले खेलकुदबाट बालबालिकाहरु टाढिंदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

पर्साको कालिकामाई गापा र बजरङ्ग युवा क्लबद्वारा आयोजित प्रथम हरिहरपुर गोल्डकप प्रतियोगिताको आइतबार उदघाटन गर्दै मुख्यमन्त्री राउतले पछिल्लो समयमा  बालबालिकाहरु मोबाइल, इन्टरनेटमा रुमल्लिन थालेकोले खेलकुदबाट टाढिदै गएको बताए ।

उनले बाल्यअवस्थादेखि खेलकुदमा नलाग्दा ठूलो भएर विभिन्न कूलतको शिकार हुने र अनुशासनहीन क्रियाकलापमा संलग्न हुने गरेको पाइएको बताए । उनले राज्यले पनि खेलकुदमा लाग्नेहरुको उचित व्यवस्थापन गर्न नसक्दा खेलकुदप्रति रुचि घट्दै गएको टिप्पणी गरे ।

मुख्यमन्त्री राउतले सरकारलाई खेलकुदको विकासमा अझ प्रभावकारी ढंगले लाग्न सुझाव दिए । उनले प्रदेश सरकारले खेलाडीहरुलाई लक्षित गरेर कार्यक्रमहरु ल्याउने आश्वासन दिए । 'खेलाडीको सन्दर्भमा प्रदेश सरकार गम्भीर र यसको संरक्षण गर्ने दायित्व पनि बोध गर्छ' मुख्यमन्त्रीले भने ।

उनले कालिकामाई–३ मा रहेका खेलमैदानको स्तरोन्नतिका लागि प्रदेश सरकारबाट रु २५ लाख सहयोग गर्ने घोषणा गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य सिंहासन कलवार, करिमा बेगम, भीमा यादव, जन्नत अन्सारी, जिसस पर्साका नेक महम्मद अन्सारी, पोखरियाका मेयर दीपनारायण रौनियार, उपमेयर सलमा खातुन, समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, वडाध्यक्षद्वय पवन तिवारी र सोनालाल चौरसियाले पनि मन्तव्य व्यक्त गरेका थिए ।

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर बजरंग युवा क्लबले कालिकामाई गापाको सहकार्यमा आजदेखि आयोजना गरेको प्रथम हरिहरपुर गोल्ड प्रतियोगितामा पर्सासमेत ८ टीम सहभागी छन् । जसमा विभागीय टीम, सशस्त्र र नेपाली सेना पनि सहभागी रहेको बताइएको छ ।उद्घाटन समारोहको अवसरमा चितवन माडीको थारु महिला समुहले थारु भेषभूषा तथा सस्कृति झल्काउने सास्कृतिक नृत्य तथा झाँकी पनि प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति: : 2019-10-13 19:48:55

प्रतिकृया दिनुहोस्