मेरो बाल्यकाल विराटनगरको बरगाछीमा बित्यो। त्यसैले बाल्यावस्थाको दशैँ तराईतिर मनाएँ। त्यसबेलाको दशैँ सामान्य हुन्थ्यो। अहिलेको जस्तो धेरै खर्च हुँदैनथ्यो। धेरै मानिस खेतीपाती गर्थे। दशैँमा चाहिने आवश्यक सामान आफैँ उत्पादन गर्थे। त्यतिबेला दशैँमा खाने मुख्य खानेकुरा मासु–चिउरा नै थियो। तरकारीमा गेडागुडी खाइन्थ्यो। तराईतिर हरियो तरकारी पाइन्थ्यो। अहिलेजस्तो संसारभरका तरकारी हँुदैन थिए। मान्छेले हिउँदको लागि भनेर मस्यौरा÷तितौरा बनाएर राख्थे। दशैँमा खानेकुराको भेराइटी धेरै हुँदैन थियो। चिउरा, मासु, तरकारी, अचार नै थियो। उत्पादन घरमै हुने भएकाले धेरै कुरा किन्नुपर्दैन थियो। मजाले खाने पनि दशैँमा नै थियो। अहिलेजस्तो जता पनि मासु पसल हुँदैन थिए। खसीबोका कोही–कोहीले काट्थे, अहिलेजस्तो दिनैपिच्छे पाइन्नथ्यो।