बडादसैँमा नै यो धर्ती टेकेकी मैले तीनखाले दसैँ देखेभोगेको छु । ५/६ दशकअघिको काठमाडौँको परम्परागत दसैँ, भूमिगतकालीन गरिबीको दुखद् दसैँ र पछिल्लो कालको प्रविधिले किचिएको दसैँ ।
म जन्मेकै दसैँमा, अष्टमीको दिन । अष्टमीको दिन जन्मेको भएर मेरो नाम अष्टलक्ष्मी राख्या रे ! त्यसैले दसैँ आउँदा जन्म दिन आउँदा मन त्यसै त्यसै फुरुङ्ग हुन्छ ।
महाष्टमीका दिन सबै पूजाआजा सकिएपछि घरको चोटामा पुग्दा आमालाई बेथा लाग्यो रे । त्यतिबेलाको चलन पराल बिछ्याउने र त्यहीँ बच्चा जन्माउने थियो । बच्चा जन्माउँदा कोठामा सानो प्वालबाट पनि उज्यालो आउन नहुने । सबै प्वाल कपडाले टालेर अन्धकार र कतैबाट हावा नछिर्ने बनाएर मात्र बच्चा जन्माउनुपर्थ्यो । मलाई आमाले त्यसरी नै जन्माउनुभएको रे । पछि मेरा भाइबहिनीहरू जन्मिँदा मैले पनि प्वाल टालिदिएको थिएँ ।