बाबर अजामको शानदार शतकसँगै घरेलु टोली पाकिस्तानले श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित निकालेको छ । सोमबार राति भएको खेलमा पाकिस्तानले श्रीलंकालाई ६७ रनले हराएको हो ।
कराचीमा पाकिस्तानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४६ ओभर ५ बलमा अलआउट हुँदै २३८ रन मात्र बनाउन सक्यो ।
श्रीलंकाका लागि सेहन जयसूर्याले ९६ तथा डसुन सनकाले ६८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै हसरंगा डी सिल्भाले ३० रन जोडे ।
पाकिस्तानका उस्मान सिनवारीले एक्लैले ५ विकेट लिए । शाहदब खानले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर ३०५ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले ११५ रनको शतकीय इनिङ्स खेले । उनले १०५ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै ११५ रन बनाए।
२००९ पछि पहिलो पटक आफ्नै भूमिमा भएको एकदिवसीय क्रिकेटमा बाबरले शतक बनाएका हुन् । बाबरले ९७ बलमा शतक बनाएका हुन् । उनको यो ११औं एकदिवसीय शतक हो ।
फखर जमानले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा हरिस सोहिलले ४० रन बनाए । श्रीलंकाका हसरंगा डी सिल्भाले २ विकेट लिए ।
जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । पहिलो खेल भने वर्षाको कारण नतिजाविहीन सकिएको थियो ।
सन् २००९ पाकिस्तानी क्रिकेटको लागि यो वर्ष कालो वर्ष हो । श्रीलंका र पाकिस्तानबीचको टेष्ट सिरिज लाहोरमा हुदै थियो । यहि टेष्टका लागि जादै गरेको श्रीलंकन खेलाडी बोकेको बसमा आतंककारी हमला हुदा श्रीलंकन खेलाडी घाइते हुन पुगेका थिए भने ६ पाकिस्तानी पुलिस र दुई सर्वसाधारणको हत्या भएको थियो ।
सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै आईसीसीले पाकिस्तानलाई कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज गर्न लामो समय प्रतिबन्ध लगाएको थियो ।