हामीले इतिहासको कुरा गर्यौं, अब वर्तमान र भविष्यको कुरा गरौं। मेरो उद्देश्य इतिहासको गौरवगाथा सुनाएर आफू बाँचिरहेको समयलाई गौण देखाउनु होइन। त्यो व्यक्ति, समाज वा सहर मात्र इतिहासको गौरवमा बाँच्छ, जसको कुनै वर्तमान वा भविष्य छैन। काठमाडौंको वर्तमान भलै धर्मराएको होस्, भर्भराउँदो भविष्यको सम्भावना मरेको छैन।
यहाँ हामी काठमाडौंको इतिहास यस कारण सम्झिँदै छौं, ताकि त्यही इतिहासको जगमा उभिएर वर्तमान र भविष्यको बाटो कोर्न सकियोस्। इतिहास आफ्नो कालखण्डमा कुनै न कुनै समय चौबाटो चोकबाट गुज्रिएरै यहाँसम्म आइपुगेको हो — अलमलिँदै, बाटो बिराउँदै, बाटो पहिल्याउँदै। हामी त्यही चौबाटो चोकमा उभिएका छौं। जसरी लाखौं लाख वर्ष ताल बनेर जमेको बागमती नदीले पहाडमा चिरा पारेर बाटो खन्यो, हामीले पनि त्यस्तै चिरा पार्नुछ।