त्रिकोणात्मक टी–२० सिरिज: जिम्बावेसँग नेपालको लज्जास्पद हार

फाइल तस्बिर

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालल जिम्बावेसँग ५ विकेटले पराजित भएको छ ।

सिंगापुरमा नेपालले दिएको १ सय ३३ रनको लक्ष्य जिम्बावेले १८।१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।

उसले ६४ रन बनाउँदा ५ विकेट गुमाएको थियो। तर रायन बर्ल र रिचमण्ड मुतुम्बामीले अविजित ६९ रनको साझेदारी गर्दै जिम्बावेलाई जित दिलाए। बर्ल ४१ र मुतुम्बामी ४० रनमा नटआउट रहे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले जिम्बावेलाई जितको लागि १३३ रनको लक्ष्य दिएको थियो । पहिले ब्याटिङ गरेको नेपालले खराब सुरूवात गर्‍यो। इशान पाण्डे दोस्रो ओभरमा ४ रन बनाएर आउट हुन पुगे।

त्यसपछि आरिफ शेख र अर्का ओपनर पारस खड्काले दोस्रो विकेटको लागि २७ रनको साझेदारी गर्दै नेपाललाई अगाडि बढाए। तर, सातौं ओभरमा आरिफलाई वेलिंगटन मासाकाड्जाले आफ्नै बलमा क्याच आउट गरेपछि नेपालको दोस्रो विकेट गुम्यो।

त्यस लगत्तै आठौँ ओभरमा कप्तान पारस खड्का लामो सर्ट खेल्ने क्रममा रायन बर्लले क्याच आउट गरे। उनले १८ रन जोड्दा आरिफले ८ रन बनाए।

त्यसपछि डेब्यू गरिरहेका अर्का खेलाडी कुशल मल्लले पनि २ रन मात्र बनाए। उनलाई सेन विलियम्सले क्याच आउट गरे।

१०.१ ओभरमा ५५ र ४ को स्थितिमा पुगेको नेपाललाई उपकप्तान दिपेन्द्र ऐरी र सन्दिप जोराले अघि बढाए। दुवैले पाँचौ विकेटको लागि ३४ रनको साझेदारी गर्दै सम्मानजनक स्कोर नजिक पुर्‍याए।

१७ रन बनाएका जोरालाई १६ औं ओभरमा माडजिभाले क्याच आउट गराएपछि नेपालको पाँचौ विकेट गुम्यो। उनले १५ बल खेल्दै २ चौका प्रहार गरे।

एक किनारमा राम्रो खेलिरहेका दिपेन्द्र ऐरी १७ औं ओभरमा आउट भए। ३३ बलमा ५ चौका प्रहार गर्दै ४० रन बनाएका उनी अर्धसतकबाट १० रनले चुके। उनलाई सेन विलियम्सले क्याच आउट गरे।

१६.३ ओभरमा ९५ र ६ को अवस्थामा रहेको नेपाललाई सातौं विकेटको लागि बिनोद भण्डारी र सोमपाल कामीले अविजित ३७ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ डोर्‍याए।

सोमपालले अविजित २५ रन बनाउने क्रममा १४ बलमा ३ छक्का प्रहार गरे। बिनोदले ११ रन बनाउन १२ बलमा १ चौका प्रहार गरे।

जिम्बावेको बलिङमा सेन विलियम्सले सर्वाधिक २ विकेट लिए। यस्तै वेलिंगटन मासाकाट्जा , रायन बर्ल , नेभिले माडजिभा तथा टेन्डाइ चताराले समान १/१ विकेट लिए।

प्रकाशित मिति: : 2019-09-27 20:45:11

प्रतिकृया दिनुहोस्