सामान्यतः दुई परिस्थितिमा योजना तर्जुमा गरिन्छ । पहिलो – सामान्य अवस्थामा तर्जुमा गरिने योजना र दोस्रो – असामान्य वा विशेष परिस्थितिमा तर्जुमा गरिने योजना । विगतको परिपाटी, विद्यमान अवस्था, तत्कालीन प्राथमिकता र उपलब्ध हुनसक्ने स्रोत (खासगरी वित्तीय स्रोत) को लेखाजोखा गरेपछि त्यसैअनुरुप लक्ष्य किटान गरी तयार गरिने योजना सामान्य अवस्थाका योजना हुन् । यस्ता योजनाहरुलाई भविष्यवाणीमा आधारित अर्थात् ‘फोरकास्टिङ’ योजना पनि भन्ने गरिन्छ । सरकार तथा संस्थाहरुले निर्माण गर्ने अधिकांश योजना यस्तै प्रकृतिका हुन्छन् ।
यसप्रकारका योजना निर्माण र कार्यान्वयन गर्न पनि सहज मानिन्छ । किनभने योजनाको अभ्यास गर्ने निकायले नतिजालाई भन्दा पनि कार्यसम्पादनलाई बढी महत्त्व दिन्छन् । योजना तर्जुमाको यस विधिलाई ‘समस्या समाधानमा आधारित विधि’ पनि भन्ने गरिन्छ । सरकारहरुले आफ्नो मुलुकका तत्कालीन प्राथमिकता सम्बोधन गर्न र निर्वाचनका समयमा व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न एउटा निर्वाचन चक्रलाई आधार मानेर सामान्य प्रक्रियाअनुरुप यसप्रकारका योजना निर्माण गर्छन् । यस्ता योजनाहरु केही अपवादबाहेक अल्पकालीन र मध्यकालीन प्रकृतिका हुन्छन् । यसप्रकारका योजनाले नतिजाभन्दा पनि कार्यसम्पादनलाई बढी महत्त्व दिने भएकाले अनुगमन तथा मूल्याड्ढनमा पर्याप्त ध्यान दिने गरेको पाइँदैन ।