निर्वाचन आयोगले २०७६ साल मंसीर १४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचन प्रयोजनका लागि दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगको असोज ८ गते बसेको बैठकको दलहरुलाई चुनाव चिन्ह दिने निर्णय गरेको हो ।
आयोगले नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरी निर्वाचन चिन्ह प्रदान गरेको जनाएको छ ।
उपनिर्वाचनका लागि २१ (एक्काइस) राजनीतिक दलहरूले आयोगमा दल दर्ताको लागि पेश गरेका निवेदन बमोजिम आयोगले दल दर्ता गरी निर्वाचन चिन्ह निर्धारण गरेको हो ।
आयोगमा नेपाल, नेपाली काँग्रेस (वी.पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नामका राजनीतिक दल दर्ता छन् ।
४७ स्थानमा मात्रै उपनिर्वाचन हुने
आयोगले विभिन्न कारणले रित्त हुने पुगेका ४७ स्थानमा उपनिर्वाचन गर्न लागेको हो । आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार प्रतिनिधिसभामा एक, प्रदेशसभामा तीन, स्थानीय तहमा प्रमुख चार र उपप्रमुखमा एक स्थान जनप्रतिनिधिविहीन छ । ३८ वडामा पनि जनप्रतिनिधि छैनन् ।
गत १५ फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन बनेको हो ।
भक्तपुर–१ ‘ख’ बाट निर्वाचित सांसद् हरिहरण लामिछानेको निधनपछि तीन नम्बर प्रदेशसभामा पनि एक स्थान रिक्त छ । ५१ वर्षीय सांसद् लामिछानेको मस्तिश्कघातका बिरामी थिए ।
यस्तै, प्रदेश पाँचका प्रदेशसभा सदस्य उत्तरकुमार ओली कार दुर्घटनामा परेका थिए । दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित ओलीको उपचारको क्रममा निधन थियो । गण्डकी प्रदेशका सांसद् टेकबहादुर घर्तीको गत मंसिरमा नयाँ दिल्लीमा निधन भएको थियो । बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित घर्ती जण्डिसका बिरामी थिए ।
स्थानीय तहमा एक मेयर र दुई गाउँपालिका अध्यक्षको निधन भइसकेको छ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको गत साउनमा निमोनियाबाट निधन भएको थियो ।
भाषण गर्दागर्दै बेहोस् भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको होस त्यसपछि खुलेन । संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटवालको सडक दुर्घटनामा परेर निधन भएको थियो ।
६ महिना कार्यकाल बाँकी हुँदै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पद रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ । स्थानीय तहमा भने एक वर्षभन्दा कम अवधि बाँकी छ भने उपनिर्वाचन हुँदैन ।
कुन दलले के चुनाव चिन्ह पाए हेर्नुहोस्ः