चराको बथान चिरबिर गर्दै उडेको देख्दा पनि युद्ध छेडियो कि भनेर जनता दुई हातले घाम छेल्दै आकाशतिर हेर्थे। पूर्वोत्तर गाउँमा कतै धुवाँ पुत्ताउन थाले तिब्बती सेना काठमाडौं छिर्यो कि भनेर कानेखुसी चल्थ्यो। बजारमा सधैंको कल्याङमल्याङबीच कुनै दिन नगराको चर्को स्वर सुनियो भने त मान्छे हुरहुरिँदै बीचनगरमै आइपुग्थे। सडकमा हिँडिरहेकाहरू टक्क अडिन्थे। मन्दिरको घन्ट बज्दाबज्दै रोकिन्थ्यो। व्यापारीहरू माल तौलँदा तौलिँदै मुख आँ गरेर बाटोतिर नजर दौडाउँथे। खेतमा काम गरिरहेका किसान हतारहतार पानीमा हातखुट्टा चोबलेर हिलो पुछ्न थाल्थे।
जबदेखि पूर्वोत्तर आकाशबाट उड्दै आउने चिसो हावाले युवराज नरेन्द्रदेव दुई सय तिब्बती सेना साथ लिएर काठमाडौं हान्न आउँदैछन् भन्ने खबर ल्यायो, यहाँका जनता यसैगरी व्यग्र छन्। मान्छेलाई युद्धको भय हुन्छ, यिनीहरू भने युद्ध भरे होला कि भोलि होला भन्ने आशमा बाइस वर्षदेखि ज्वालामुखीझैं उम्लिएर बसेका छन्। नरेन्द्रदेव तीस वर्षका भए। उनी दस वर्षका थिए होलान्, जब उनका पिता राजा उदयदेवको हातबाट शासन गुम्यो। गुप्त–आभीर अधिनायक जिष्णुगुप्तले उदयदेवकै भाइखलक युवराज ध्रुवदेवका नाममा षड्यन्त्रपूर्वक शासन हत्याए। सिंहासनमा ध्रुवदेवलाई राखे, राजकाज आफू चलाए। लिच्छविवंश खोपीमा खुम्चियो।