म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिगमा सहज जित निकालेको छ । दिपडेल स्टेडियम प्रिस्टनमा मंगलबार राति भएको खेलमा सिटीले च्याम्पियनसिप क्लब प्रिस्टन नर्थ इन्डमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो ।
सिटीको जितमा रहिम स्ट्रलिङ र ग्याब्रियल जेससले समान एक एक गोल गरे भने एक गोल उपहार पाएको थियो । रहिमले खेलको १९औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । उनले इरिक गार्सियाको पासमा गोल गरेका थिए ।
३५औं मिनेटमा ग्याब्रियल जेससले रहिमको पासमा गोल गर्दै सिटीलाई खेलमा २–० को अग्रता दिलाए। ४२औं मिनेटमा रायन लेड्सनले आत्मघाती गोल गरेपछि सिटी घरेलु टोलीविरुद्ध पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो ।
दोस्रो हाफमा प्रिस्टनलाई लगातार दवावमा राखेपनि गोल गर्न नसक्दा पहिलो हाफमा ३ गोल नै सिटीको जितमा पर्याप्त बन्यो ।
त्यस्तै मंगलबार नै भएको अरु खेलमा पोस्टस्माउथविरुद्ध साउथह्याम्पटन ०–४, लुटनविरुद्ध लेस्टर सिटी ०–४, वाटफोर्डविरुद्ध स्वान्सी सिटी २–१,सेफफिल्डविरुद्ध एभर्टन ०–२ बिजयी हुँदा क्रलेवि र स्टकसिटीले १–१ेको बराबरी खेले ।