सरकारका कामबाट निराश हुने ठाउँ छैनः सुवासचन्द्र नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता तथा संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता तथा संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले गरेका कामबाट निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

संघीय संसदको चौथो अधिवेशनको प्रतिनिधिसभाको अन्तिम बैठकमा नेम्वाङले सरकारले गरेका काम नराम्रा नभएका र प्रतिपक्षी दलले दिएका सुझाव मनन गरेर अगाडि बढ्न तयार रहेको बताए । उनले भने, ‘अलिकति पनि निराश हुनुपर्ने ठाउँ छैन । हामीले राम्रा काम गरेका छौँ, सही काम गरेका छौँ । केही कमिकमजोरी छन् भने सच्च्याएर अगाडि बढ्न तयार छौँ भन्न कुनै संकोच छैन । प्रतिपक्षका नेताको भनाइ मान्न तयार छौँ ।’ उनले सरकारले गर्व गर्ने काम गरेको पनि जानकारी दिए । नेम्वाङले प्रतिपक्षी दलले भनेका कुराहरू धैर्यताका सुन्न तयार रहेको पनि बताए ।

संघीय संसदको चौथो अधिवेशन महत्त्वपूर्ण रहेको नेम्वाङको भनाइ थियो। संविधानसम्मत बनाइनुपर्ने धेरै कानुन बनेको, शान्ति प्रक्रियाको ऐतिहासिक काम सम्पन्न भएकाले यो अधिवेशनलाई महत्त्वपूर्ण लिनुपर्ने उनको भनाइ थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार तयार पारिएको उनको भनाइ थियो । संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानको स्रोत जनता भएको बताए । विगतका संविधानका स्रोत तत्कालिन शासक रहेका तर अहिलेको संविधानको स्रोत जनता भएको प्रमाण संविधानको प्रस्तावनामा नै लेखिएको उनले बताए ।

‘पहिलोपटक जनताले जनताको लागि बनाएको संविधान कार्यान्वयन गर्दै हामी यहाँसम्म पुगेका छौँ’, उनले भने, ’संविधान कार्यान्वयनको लागि निर्वाचन भएका छन् । मौलिक अधिकारका कानुन निर्माण भएका छन् । त्यी नभएको भए देश संवैधानिक संकटमा जान्थ्यो।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राज्य आतंक मच्चाएको भन्ने आरोपलाई लक्षित गर्दै उपनेता नेम्वाङले विगतमा जस्तो राज्य शक्ति प्रतिपक्षीलाई दबाउन नगरिने बताए ।

  उनले भने, ‘सिंहदरबारमा रहेको संसद भवनबाट बाहिर निस्किँदा सांसदहरूले दौरा सुरुवाल लगाएर निस्केका थियौँ, जनतालाई भेट्न । सरकारका प्रहरीले सांसद भनेर चिन्लान् र दुर्व्यवहार नगर्लान् भनेर त्यसो गरेका थियौँ तर सिंसदबार गेटमा नै नराम्रोसँग कुट्यो । त्यसले सजिलो पो भयो कि ! अबका दिनमा त्यस्तो हुने छैन ।’ उपनेता नेम्वाङले चौथो अधिवेशनमा पनि संसद अवरोध भएकोमा असन्तुष्टि व्यक्त गरे । उनले आगामी दिनमा त्यस्तो नहोस् भन्ने गरी काम गर्नुपर्ने बताए ।

उनले सबै विवाद संवादबाट हल गर्न आफूहरू तयार रहेको र नेपाली नेताहरू, राजनीतिक दलहरू सक्षम रहेको धारणा राखेका थिए। मिलेर नै राष्ट्रका विवाद समाधान गर्न सक्षम रहेको भन्ने सन्देश राजनीतिक दलहरूले दिएको पनि धारणा राखेका थिए ।

अर्थतन्त्र कछुवाको गतिमा छः पूर्व प्रम भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अर्थतन्त्रको विकासमा नेपाल अवस्था कछुवा गतिमा रहेको हुँदा यसलाई सुधार गरेर लैजानुपर्ने बताएका छन्।

बजेट अधिवेशनको समापनका अवसरमा उनले बजेटको अवस्थालाई बढाउनुपर्नेमा र त्यसका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले असन्तुष्टि नै विकास गर्ने आधार भएको उल्लेख गरे।

पूर्वप्रम डा भट्टराईले भने, 'संविधान जारी भएपछि यो अवधिमा थुप्रै कानून निर्माण भयो, महिला मान्य सदस्य सबैभन्दा बढी सक्रियतापूर्वक सहभागिता भएर काम गरेको अनुभूति मैले गरे ।' उनले ठूलो बलिदानीपछि जारी गरेको संविधान जारी गरेको चार वर्ष पुग्दै गरेको अवस्थामा संविधान पनि त्यहीअनुरुप विकास हुँदै जानुपर्नेमा जोड दिए।

नेपालको भू–राजनीतिकमा अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै अमेरिका, चीन र भारतजस्ता तीन ठूला राष्ट्रलाई अवसरको रुपमा लिएर तीन ठूला शक्तिको ध्यान नेपालमा केन्द्रित गरेर त्यसलाई अवसरका रुपमा लिनुपर्नेमा जोड दिए।

रासस

प्रकाशित मिति: : 2019-09-20 00:26:49

प्रतिकृया दिनुहोस्