प्रतिस्पर्धात्मक खेलमा बंगलादेशले जिम्बाबेलाई हरायो

तस्बिरः एजेन्सी

बंगलादेशमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा घरेलु टोलीले विजयी सुरूवात गरेको छ।

बंगलादेश, जिम्बाबे र अफगानिस्तान बीच जारी सिरिज अन्तर्गत पहिलो खेलमा आयोजक बंगलादेशले जिम्बाबेलाई रोमाञ्चक खेलमा ३ विकेटले हराएको हो।

शेरे बङ्गला स्टेडियममा वर्षाले अवरूद्ध खेल १८ ओभरमा घटाइएको थियो। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले दिएको १४५ रनको लक्ष्य घरेलु टिमले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गर्‍यो।

अत्यन्त खराब सुरूवात गरेको बंगलादेशले पहिलो ६ विकेट ६० रनको योगफलमै गुमाएको थियो। लिटन दास १९, सौम्य सरकार ४, शकिब अल हसन १, मुस्फिकर रहिम ० तथा महमुदुल्लाह १४ रन बनाएर पेभेलियन फर्किदा बंगलादेश हारतिर लम्केको थियो।

तर, सातौं विकेटको लागि मोसद्देक होसेन र अफिफ होसेनले उत्कृष्ट साझेदारी गर्दै घरेलु टिमलाई लक्ष्यतर्फ डोर्‍याए। अफिफले मात्र २४ बलमा करियरको पहिलो अर्धशतक पुरा गरे। अन्तिम ओभरमा जितको लागि ५ रन आवश्वक रहँदा ओभरको दोस्रो बलमा अफिफ क्याच आउट भए। उनले २६ बलमा ८ चौका र १ छक्का मदतले ५२ रन बनाएका थिए।

चौथो बलमा मोहम्मद सैफुद्दीनले चौका प्रहार गर्दै बग्लादेशलाई जित दिलाए। मोसद्देक ३० रन तथा सैफुद्दीन ६ रनमा अविजित रहे।

जिम्बाबेका लागि कायल जार्भिस, तेन्दाइ चतारा र नेभिले मेडजिभाले समान २/२ विकेट लिए पनि जिताउन सकेनन्।

यसअघि पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित १८ ओभरमा ५ विकेट गुमाएर १४४ रन बनाएको थियो।

उसका लागि ओपनर ह्यामिल्टन मासाकाट्जाले ३४ रन बनाए पनि अन्य माथिल्लो क्रमका ब्याट्सम्यानहरु सस्तोमै आउट हुँदा जिम्बाबेले पहिलो ५ विकेट ६३ रनमै गुमाएको थियो।

कम योगफलमा समेटिने खतरा बढ्दै गर्दा छैठौं नम्बरमा ब्याटिङ गरेका रायन बर्लले सातौं नम्बरका टिनोटेण्डा मुटोम्बोड्जीसंग अविजित ८१ रनको साझेदारी गर्दै टिमलाई राम्रो योगफलतर्फ लागेका थिए।

बर्लले टि-२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाउने क्रममा अविजित ५७ रन बनाए जुन क्रममा ३२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै मुटोम्बोड्जीले २६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडे।

बर्लले बंगलादेश कप्तान शाकिब अल हसनले गरेको १६ औं ओभरमा ३ छक्का र ३ चौका मदतले ३० रन बनाएका थिए। त्यस क्रममा उनले पहिलो बलमा छक्का, दोश्रो र तेश्रो बलमा चौका, चौथो बलमा छक्का, पाँचौ बलमा चौका र छैठौं बलमा छक्का प्रहार गरेका थिए। यो सँगै उनले २८ बलमा ५४ रन बनाउँदै अर्धशतक पुरा गरेका थिए।

१४ ओभरम ८१/५ को अवस्थाबाट जिम्बाबेले अन्तिम ४ ओभरमा ६३ रन बनाएको थियो।

बंगलादेशका लागि मोसद्देक, मुस्ताफिजुर, सैफुद्दीन र ताइजुल इस्लामले समान १-१ विकेट लिएका थिए।

त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा शनिवार अफगानिस्तान र जिम्बाबेले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: : 2019-09-14 08:05:18

प्रतिकृया दिनुहोस्