एनआरएनएलाई 'एक करोड' दिने क्रम जारी : जर्मनीका कुमारपछि अमेरिकाका गौरी

एनआरएनएलाई 'एक करोड' दिने जर्मनका कुमार र अमेरिकाका गौरी । तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

गैरआवासीय नेपाली संघलाई एक करोड सहयोग दिने दोस्रो घोषणा भएको छ । दोस्रो घोषणा सचिवका प्रत्यासी गौरीराज जोशीले गरेका हुन् ।

यसअघि अध्यक्षका प्रत्यासी कुमार पन्तले एक करोड दिने पहिलो घोषणा गरेका थिए । उनले घोषणा गरेको २४ घण्टा पनि नबित्दै जोशीले दोस्रो घोषणा गरेका हुन् ।

पहिलो घोषणा गर्ने कुमार पन्त एनआरएन आइसीसीका वर्तमान उपाध्यक्ष हुन् । उनी जर्मनीलगायतका युरोपेली देशमा होटल व्यवसाय गर्छन् । यसअघि उनी महासचिव रहिसेका छन् । 

यसैगरी दोस्रो घोषणा गर्ने गौरी जोशी बर्तमान कार्यसमितिमा उत्तर अमेरिका क्षेत्रका संयोजक हुन् । उनी अमेरिकमा सूचना प्रविधि क्षेत्रका व्यवसायी हुन् ।

अब तेस्रो घोषणा कसले र कहाँबाट गर्ने हो भन्ने प्रतीक्षा भैरहेको छ ।

यसैबीच एनआरएनका यी दानवीर कर्णहरूले गरेको सहयोग घोषणालाई लिएर मिश्रित प्रतिक्रिया मिलेको छ । यो घोषणाको समर्थनमा देखिनेहरूले एनआरएनलाई आवश्यक परेको बेला ठूलो मन देखाएर संस्थालाई बचाउन योगदान दिएको भनेर उनीहरूको प्रशंसा गरेका छन् । तर, विरोध गर्नेहरूले यसबाट चुनाव प्रभावित हुने, एनआरएन क्रमश: धनीहरूको क्लब हुदैजाने र पैसाको लडाईंको दलदलमा फस्ने बताएका छन् । 

यसबाहेक तेस्रो कोणबाट यो रकम एनआरएनएलाई ऋण हो कि सहयोग हो भनेर पनि प्रश्न उठेको छ । 

जे भए पनि एनआरएनहरू धनकारी र मनकारी दुबै हुँदैगएको र नाम र प्रतिष्ठाका लागि एक एक करोड पनि खर्च गर्न सक्ने हैसियतमा पुगेको देखिएको छ । यो कोणबाट हेर्दा भने यसलाई नकारात्मक रूपमा लिनुपर्ने कारण देखिदैन ।

 

 

 

प्रकाशित मिति: : 2019-09-13 02:34:11

प्रतिकृया दिनुहोस्