भारतमा राहुलको नागरिकता र शैक्षिक योग्यता विवादमा: उम्मेद्वारी नामांकन नै स्थगित

चिन्तामा राहुल: अब के होला ? तस्वीर : पीटीआई

भारतमा लोकसभाको चुनाव जारी रहेकै बेला प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीको नागरिकता र शैक्षिक प्रमाणपत्र विवाद साम्ने आएको छ। 

उत्तर प्रदेशको अमेठीमा उम्मेद्वारी दर्ता गरेका राहुल बिरूद्ध एक निर्दलीय उम्मेदवार ध्रुव लालले दाबी बिरोध गरेपछि उनको उम्मेद्वारी अप्रिल २२ सम्मका लागि स्थगित भएको छ। अमेठीका रिटर्निङ्ग अफिसर राम मनोहरले राहुलको नागरिकता र शैक्षिक प्रमाणपत्रलगायतका विषयमा आवश्यक छानबिनपछि मात्र के गर्ने निर्णय गरिने बताएका छन्। 

भारतीय समाचार संस्था पीटीआईका अनुसार 'राहुल गान्धीले ब्रिटेनको एक कम्पनीलाई आफू त्यहाँका नागरिक भएको बताएको उल्लेख गर्दै उनी कहाँको नागरिक हुन् त्यसको छिनोफानो हुनुपर्ने माग गरिएको छ। 

यसैगरी गान्धीले आफ्नो २००३ देखि २००९ सम्मको बीचमा यूकेमा रहेको सम्पत्तिको जानकारी दिनुपर्ने माग गर्दै उनको शैक्षिक योग्यता उनको दस्तावेजमा उल्लेख योग्यतासँग मेल नखाएकोले त्यसबारेमा पनि छानबिन हुनुपर्ने माग गरिएको छ। 

कैयौं दस्तावेजमा उनको नाम राहुल विन्सी भएको बताउँदै राहुल गान्धी र राहुल विन्सी एकै व्यक्ति हुन् कि हैनन्? यस बारेमा स्पष्टीकरण माग गरिएको छ।

यी प्रश्नहरूको छिनोफानो नभइ राहुल गान्धीको उम्मेद्वारी स्वीकार नगरियोस् भनी निर्दलीय उम्मेदवार ध्रुव लालले माग गरेको छ। 

उनको माग अनुसार अप्रिल २२ सम्म उम्मेद्वारी स्वीकार नगरिने बताइएपछि भारतको राजनीति एकाएक तातेको छ। सत्तारूढ भारतीय जनता पार्टीले यस विषयलाई गम्भीरतापूर्वक छानबीन गरेर मात्र निर्णयमा पुग्न माग गरेको छ। उता, भारतीय राष्ट्रिय कांग्रेसले भने यसलाई बेतुकको माग भन्दै आफ्नो अध्यक्षमाथि षडयन्त्र हुन लागेको आशंका गरेको छ। 

प्रकाशित मिति: : 2019-04-20 23:26:56

प्रतिकृया दिनुहोस्