नातीको अन्त्येष्टिपछि पूर्व राष्ट्रपति लुला पुनः जेल फिर्ता

एएफपी

काराबास सजाय भोगिरहेका ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा शनिबार पुनः जेल फर्किएका छन्। उनलाई आफ्नो नातीको अन्त्येष्टिमा सहभागी हुन अनुमति दिइएको थियो।

शनिबार बिहानै कुरिटिबास्थित जेलको कोठाबाट झरेर उनले एउटा सानो विमानमार्फत अन्त्येष्टि समारोहमा सहभागी हुन करिब ४०० किलोमिटर टाढा रहेको साओपाओलो शहरमा पुगेका थिए। जहाँ रातो फेटा लगाएका उनका सयौँ समर्थक भेला भै लुलाको रिहाइका लागि प्रदर्शन गरेका थिए।

उनको सात वर्षे नाती अर्थर अराउजो जुला दा सिल्भाको शुक्रबार विहान निधन भएपछि अदालतले शुक्रबार नै उनलाई अन्त्येष्टिमा सहभागीताका लागि अनुमति दिएको थियो।

अदालतले अनुमति दिएपछि शनिबार हुने अन्त्येष्टि कार्यक्रममा उनको सहभागीता रहेको थियो। सिल्भाले सत्तामा रहँदा पदको दुरोपयोग गरी आर्थिक अपचलन तथा भ्रष्टाचारमा सम्लग्न रहेको अभियोगमा उनलाई ब्राजिलको अदालतले १२ बर्षको जेल सजाय तोकेको छ।

अन्त्येष्टिमा सहभागी हुन उनी साओ पाउलोमा पुगेका थिए। कडा सुरक्षा व्यवस्थासहित उनी विमानबाट कार्यक्रम स्थलमा पुग्ने र कार्यक्रममा सहभागी भएका थिए। ब्राजिलको कानुनमा काराबासमा रहेका व्यक्तिलाई बुवा आमा, सहोदर भाइबहिनी, छोराछोरी वा नाती नातिनाजस्ता निकटस्थको अन्त्येष्टि समारोहमा छोटो अवधिका लागि सहभागी हुन अनुमति दिनसक्ने व्यवस्था छ।

प्रकाशित मिति: : 2019-03-03 21:34:59

प्रतिकृया दिनुहोस्