अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौताका लागि निकै नजिकमा वार्ता पुगेको बताएका छन्।
‘अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने अपेक्षा मैले गरेको छु’, ट्रम्पले भने।
अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि छिट्टै हुने र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने सम्भावना बढेको बताए।
चिनियाँ वार्ता टोलीसँग वासिङ्टनमा भएको पछिल्लो दुई दिन लामो वार्ता ‘निकै सकारात्मक’ भएको बताउँदै यसलाई आइतबारसम्म लम्व्याइएको थियो।
‘हामीले सम्झौतामा हस्ताक्षर गर्नेगरी शिखर सम्मेलन गरिने र यो पक्कै अझ राम्रो अवसर हुनेछ । हामी आशावादी छौँ वार्ता छिट्टै सम्पन्न हुनेछ । हामी सहमतिको नजिक पुगेका छौँ,’ उनले भने।
अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूले विश्वका दुई अर्थतन्त्रबीच व्यापार बिषयमा देखिएको गहिरो तनावलाई समाधान गर्ने प्रयासमा भएका वार्ता सकारात्मक बन्दै गएको बताइएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा व्यापार विवादलाई मार्च १ पहिलेसम्म समाधान गर्न आफ्नो तहबाट पहल गर्ने सहमति बनेको थियो । यसै आधारमा भएका वार्ता सकारात्मक बनेपछि ट्रम्पद्वारा मार्चमा थप कर वृद्धि गर्नसकिने भनिएको समयलाई थप तीन महिना पछि सारिएको छ ।
सहमति अनुसार आगामी हप्ता अर्थात् मार्च १ मा अमेरिकाले दुई खर्ब मूल्य बराबरको चिनियाँ सामानमा कर वृद्धि गर्ने बताइएको भएपनि राष्ट्रपति ट्रम्पले उक्त निर्णयलाई पछि सार्ने घोषणा गरिसकेका छन्।