लचिलो परराष्ट्र नीति बनाउन सुझाव

नेपालका पूर्वपरराष्ट्रमन्त्रीहरुले राष्ट्रियहितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले बलियो परराष्ट्र नीति बनाउन राष्ट्रिय चाख र कौतुहलताका विषयलाई अघि सार्नुपर्ने सुझाए दिए। 

ललितपुरमाआयोजित ‘वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र नीति’ विषयक कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीहरुले नेपालको परराष्ट्र नीति अन्य मुलुकको नीतिसरह सवल र दरिलो बनाउन आवश्यक रहेको बताए। पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले मुलुकको राजनीति, संस्कार, आर्थिक अवस्था र सुरक्षालाई ध्यानमा राखि अघि बढ्दा देश उन्नतितर्फ लम्किने बताए।

“नेपाल गरीब मुलुक भएका कारण अन्य देशसँग आत्मनिर्भर हुनुपर्दा विदेश नीति परिवर्तन गराउन निकै पछि परेको छ”, उनले भने। “भारतले नेपालमा तीनपटक नाकाबन्दी गर्दा पनि हामीले सहेर बस्नुपर्यो, किन यहाँ नाकाबन्दी गर्यो भनी सोध्ने र सम्झाउने क्षमताको विकास यहाँका नीति निर्माताले गर्न सकेनन्।” 

पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालले दरिलो विदेश नीति निर्माण गर्न पञ्चशीलको सिद्धान्तलाई आधार मानी राष्ट्रिय सीमासुरक्षामा कडाइ गर्नुपर्नेमा जोड दिए। “समय र गतिशीलतालाई ध्यानमा राखेर अघि बढ्दा राम्रो विदेश नीति बन्छ,” उहाँले भन्नुभयो, “नेपालका विभिन्न परराष्ट्रविद्सँग बसी परराष्ट्र नीति निर्माण गरे वैदेशिक नीतिमा समस्या हुन्न ।”

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालले विदेश नीति तयार गर्दा राष्ट्रिय स्वार्थ र आवश्यकतालाई ध्यानमा राख्नुपर्ने बताए। “वर्तमान सरकारको नीतिनियम अलि लचिलो छ, त्यसैले नेपालको ७५ प्रतिशत विदेशी लगानी घटेको देखिन्छ”, उनले भने “कमजोर विदेश नीति निर्माण गर्नेमा नेपाल पाँचौँ स्थानमा झरिसक्यो। ।” 
नेपालका पूर्वराजदूत डा शम्भुराम सिम्खडाले २०४६ साल पछिको राजनीतिक परिवर्तनले परराष्ट्र नीतिमा प्रभाव पारेको बताएका थिए। “आन्तरिक राजनीतिक सहमतिलाई अघि सारेर नीति निर्माण गर्नुपर्छ,” उनले भने

नेपाल विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलले नेपालमा सवल परराष्ट्र नीति निर्माण गर्न सदैव यहाँको संस्कृति र पर्यटनलाई संरक्षण गर्दै अघि बढ्नुपर्ने बताएका थिए। “नेपालको परराष्ट्र नीति दिगो बनाउन छिमेकी मुलुकसँग अझ सम्बन्ध बिस्तार गनुपर्छ”, खरेलले भने।

प्रकाशित मिति: : 2019-01-25 03:30:48

प्रतिकृया दिनुहोस्