साउदी रेस्टुराँमा अब महिला र पुरुष एउटै ढोकाबाट छिर्न पाउने

Photo: GETTY IMAGES

साउदी अरबमा अब रेस्टुराँहरूले पुरुष र महिलाका लागि छुट्टाछुट्टै प्रवेशद्वार निर्माण गर्नुपर्ने छैन। महिला तथा पुरुषसम्बन्धी त्यहाँको पुरानो नियमलाई खुकुलो पार्दै साउदी सरकारले ट्विटरमार्फत् त्यस्तो घोषणा गरेको हो।

नगरपालिकासम्बन्धी साउदी मन्त्रालयले रेस्टुराँहरूलाई महिला र पुरुषका निम्ति छुट्टाछुट्टै प्रवेशद्वार तोक्न अबदेखि नपर्ने जनाएको हो। तर त्यस्तो निर्णय व्यवसायीहरू स्वयंको विवेकमा छाडिनेछ। हालसम्म रेस्टुराँभित्र परिवार तथा महिलालाई सामान्यतयाः पर्दाको प्रयोग गरेर एक्लै आउने पुरुषभन्दा छुट्टै राखिन्थ्यो। साउदी अरबमा शृङ्खलाबद्ध रूपमा भइरहेका यस्ता सुधारका काममा अवरोध गर्ने कट्टरपन्थीहरूलाई समेत धेरै पटक कारबाही गरिएको छ।

सन् २०१७ मा मोहम्मद बिन सलमान युवराज भएयता उनले त्यहाँको कट्टरपन्थी समाजलाई बिस्तारै खुला पार्ने प्रयास गर्दैछन्। सन् २०१८ मा साउदी अरबले चालक अनुमतिपत्र लिनका निम्ति महिलामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको थियो।

उनका सुधार योजनाहरूले अन्तर्राष्ट्रिय समुदायमा प्रशंसा बटुलेको छ।

प्रकाशित मिति: : 2019-12-10 10:49:12

प्रतिकृया दिनुहोस्