महाराष्ट्रमा उद्धव ठाकरे बने मुख्यमन्त्री, बाहियो सत्ताबाट भाजपा

शिवसेना प्रमुख उद्धवले यसरी लिए सपथ । तस्बिर : एजेन्सी

भारतको महाराष्ट्र राज्यको मुख्यमन्त्रीमा शिवसेना प्रमुख उद्धव ठाकरे बिहीबार साँझ मुख्यमन्त्री पदको सपथ लिएका छन् । उनले महाराष्ट्रको शिवाजी पार्कमा हजारौ समर्थकबीच मुख्यमन्त्रीको सपथ लिएका हुन्। उनलाई महाराष्ट्रका राज्यपाल भगतसिंह कोश्यारीले सपथ ग्रहण गराएका हुन् । 

सपथग्रहण समारोहमा कांग्रेस, एनसीपी र शिवसेनाका सबै मुख्य नेताहरूको सहभागिता रहे पनि कांग्रेस अध्यक्ष सोनिया गान्धी र निवर्तमान अध्यक्ष राहुल गान्धी भने उपस्थित भएनन् । बरू, शिवसेनाबाट छुट्टिएर महाराष्ट्र नवनिर्माण सेना बनाएका राज ठाकरे उपस्थित रहे । अनपेक्षित रूपमा सपथ ग्रहण समारोहमा पुगेका राज समारोहका विशेष आकर्षण थिए ।

समारोहमा चार दिनका लागि मुख्यमन्त्री भएका निवर्तमान पूर्वमुख्यमन्त्री भाजपा नेता देवेन्द्र फडणवीस पनि सहभागी थिए । 

उद्धव ठाकरेदे शिवसेनाका एकनाथ सिन्दे, सुवास देसाई, एनसीपीका जयन्त पाटिल र छगन भुजवल तथा कांग्रेसका बालासाहेव थोरट र नितिन राउत सम्मिलित मन्त्रिमण्डल बनाएका छन्। उनीहरूले सपथ लिएर कार्यकाल सुरू गरेका छन् ।   

मुख्यमन्त्री उद्धव शिवसेनाका संस्थापक बाल साहेबका छोरा हुन्। उनी राजनीतिमा आउनु अघि, सेनाको मुखपत्र सामनाका सम्पादक भएर काम गरेका थिए। सन् २००२ मा बृहन्मुम्बई नगर निगम चुनावमा, शिवसेनाले ठूलो सफलता पायो। सफलताको श्रेय उद्धव ठाकरेले पाएपछि बाल साहेबले आफ्नो राजनीतिक विरासत उद्धवलाई हस्तान्तरण गेका थिए । 

उद्धव ठाकरे परिवारबाट मुख्यमन्त्री बन्ने पहिलो सदस्य हुन् । विधानसभामा भारजपासँग मिलेर ५६ स्थान जितेका उनले ५४ स्थान जितेको एनसीपी र ४४ स्थान जितेको कांग्रेससँग मिलेर सरकार बनाएका हुन् । भाजपालाई जसरी पनि सतताबाट बाहिर राख्न यी तीन दल मिलेका हुन्। यसका लागि एनसीपी सुप्रिमो शरद पवारले किङमेकरको भूमिका खेलेका छन्।

सपथ ग्रहणसँगै नयाँ सरकारले कार्यकाल सुरू गरे पनि भाजपालाई बाहिर राख्ने एक सूत्रीय कार्यक्रमका साथ सत्तारूढ भएको यो त्रिशंकु सरकार कतिञ्जेलको पाहुना होला पनि भन्न थालिएको छ । केही राजनीतज्ञहरूले भनेका छन् शरद पवार दाहिना हुञ्जेल र भाजपाले लोटस अपरेसन सफलतापूर्वक नचलाएसम्म सरकार चल्ने छ।

प्रकाशित मिति: : 2019-11-29 05:07:53

प्रतिकृया दिनुहोस्