पाँच महिने लामो राजनीतिक अस्थिरतापछि हङकङमा मतदान, बिहानैदेखि ठूलो लाइन

तस्बिरः एजेन्सी

पाँच महिना लामो राजनीतिक अस्थिरतापछि आइतबार हङकङमा स्थानीय चुनाव हुने भएको छ।

अधिकारीहरूले मतदान केन्द्रहरूमा गम्भीर समस्या उत्पन्न भयो भने मतदान स्थगित गर्ने धम्की दिएका छन्।

स्थानीय समय अनुसार ७ः३० बजे मतदान केन्द्र खुलेका छन्। हङकङमा ७४ लाख जनसंख्या भएपनि ४१ लाखले मात्रै मतदान दिन आफ्नो नाम दर्ता गराएका छन्। एक हजार भन्दा बढीले चुनावका लागि उम्मेद्वारी दिएका छन् जसबाट ४५२ जना जिल्ला परिषदका लागि चुनिने छन्।

२७ सिट भने ग्रामीण जिल्लाका लागि तोकिएको छ।

केही प्रख्यात व्यक्तिहरू पनि चुनावमा उठेका छन्।

बेइजिङ समर्थक सांसद जुनियस हो - जो शहरका एक अति विवादास्पद राजनीतिकर्मी हुन् उनी पनि एक उम्मेदवार हुन्।

समर्थकको भेषमा आएका एक व्यक्तिले यसै महिनाको सुरूमा उनलाई धारिलो हतियार प्रहार गरेका थिए।

उनले हालै आलोचना खेपिरहेको हङकङको प्रहरीको समर्थनमा पटक पटक आफ्नो धारणा सार्वजनिक गरेका छन्।

एकजना राजनीतिक अभियानकर्मी जिम्मी शाम पहिलो पटक चुनाव लड्दै छन्।

प्रजातन्त्रवादी अभियानकर्ताहरू परिषद्‍मा आफ्नो प्रतिनिधित्व बढाउने आशा राखेका छन्।

परिषद्ले प्रमुख कार्यकारी चयनमा परम्परागत रूपमा नै प्रभाव राख्दै आएको छ।

 

प्रकाशित मिति: : 2019-11-24 12:29:43

प्रतिकृया दिनुहोस्