क्वालालाम्पुर ।
मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ।
५४ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा बिना कुनै विकेट क्षति लक्ष्य पुरा गर्यो।
नेपालका लागि पवन सरार्फले विस्फोटक ब्याटिङ गर्दै ४६ रन जोड्दा रित गौतमले १० रन जोडे। पवनले ६ चौका र ३ छक्का हिर्काएका थिए।
यसअघि किनारा ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चीनले २३.१ ओभरमा अल आउट हुँदै ५३ रन बनाएको थियो।
नेपालको घातक बलिङ सामू चीनका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
पहिलो विकेटका लागि लियाङ चेन र गौओ गाओले १८ रनको साझेदारीनै चीनका लागि सर्वाधिक रन थियो।
गाओले १३ रन जोडेका थिए। उनीबाहेका कुनै पनि ब्याट्सम्यान नेपाली बलरको कसिलो बलिङमा मैदानमा लामो समय टिक्न सकेनन् ।
चीनलाई सस्तैमा रोक्न सागर ढकालले ९.१ ओभरमा ३ मेडन सहित १९ मात्रै रन खर्चेर ६ विकेट लिए। त्यस्तै डेब्यू खेलमा तिलक राज भण्डारीले ७ ओभरमा ३ मेडन सहित १५ रन खर्चेर ३ विकेट हात पारे। कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो।