देशभर नै मनसुन सक्रिय रहेको नेपालमा शुक्रबार मौसममा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसमपूर्वानुमान महाशाखाले देशको पूर्व तथा मध्य भागमा सामान्य मौसम बदली हुने जनाएको छ । पश्चिमी भागमा आंशिक बदली हुने छ ।
पूर्व, मध्य र पश्चिम भागको केही स्थानमा वर्षाको सम्भावना रहेको जनाउँदै विभागले पूर्वका केही ठाउँमा भने ठूलो पानी पर्ने अनुमान गरेको छ ।
काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि मौसम बदली भएको छ र पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।
खासगरी प्रदेश १ को ईलाम, ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङ, प्रदेश ३ को काभ्रेपलाञ्चोक र सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की र स्याङजा र प्रदेश ५ को रूकुमलगायत जिल्लाका केही स-साना खोलामा उल्लेख्य बहाव बढ्ने पनि जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
उसले खोला किनारका बासिन्दालाई सतर्क हुन पनि सचेत गराएको छ ।