अन्ततः नेपालीमूलका प्राध्यापक तुल्सी धरेल क्यानडाका ‘उत्कृष्ठ २५ आप्रवासी’मा पर्न सफल भएका छन् । अघिल्लो बर्ष ‘उत्कृष्ट ७५ आप्रवासी’ भित्र सीमित प्राध्यापक धरेल यस बर्ष भने उत्कृष्ट २५ मा परेका हुन् ।
‘क्यानेडियन इमिग्रयान्ट’ नामक म्यागजिनले आप्रवासीलाई उत्प्रेरित गर्ने उद्देश्यले विगत ११ बर्षदेखि यो अवार्ड प्रतियोगिता सञ्चालन गर्दै आएको छ । जसलाई ‘रोयल बैंक अफ् क्यानडा’ ले सुरुबाटै प्रायोजन गर्दै आएको छ ।
टोरन्टोस्थित डाउनटाउनमा मंगलबार अपरान्ह आयोजित एक समारोहमा धरेललाई अवार्ड प्रदान गरियो । त्यसअघि आयोजकले मंगलबार बिहानै आफ्नो वेबसाइटमार्फत् सन् २०१९ का ‘उत्कृष्ट २५ आप्रवासी’को नाम र तस्वीर सार्वजनिक गरेका थिए ।
जसअनुसार, चर्चित सो ‘ग्रेस् एनाटोमी’का अभिनेता जिआकोमो ज्यानअट्टी (इटाली), फुड चेन कम्पनी ‘सिस्को’की प्रमुख रोला ड्यागर (लेबनान) र वेष्टसेलर लेखक वाली साह (पाकिस्तान), जो क्यानडामा आप्रवासी हुन्, उनीहरु यसबर्षका विजेता बन्न सफल भए ।
उत्कृष्ट ७५ को सूचीमा पर्न सफल आप्रवासीले प्राप्त गरेको सफलता तथा सामाजिक योगदानको मूल्यांकन गरी एसएमएस भोटिङमार्फत बिजेतासहित उत्कृष्ट २५ आप्रवासी छनौट गरिएको हो ।
आयोजक ‘क्यानेडियन इमिग्रयान्ट’ म्यागजिनका निर्देशक सञ्जय अग्निहोत्रीले यसबर्ष विजेता र उत्कृष्ट २५ छनौट गर्न ६५ हजार भोट प्राप्त भएको उल्लेख गर्दै क्यानडाका आप्रवासीमाझ यो कार्यक्रमको महत्व अझ बढेको जनाएका छन् ।
अवार्ड हात पारेपछि प्राध्यापक धरेलले ‘साँच्चै खुशी लागेको’ उल्लेख गर्दै आफू र आफ्नो नेपाली समुदायनिम्ति काम गर्न अझ प्रेरणा मिलेको प्रतिक्रिया दिए ।
‘जे जति गरियो, त्यसको यसरी मूल्यांकन हुँदा अझ काम गर्ने जाँगर चल्दो रहेछ’ प्राध्यापक धरेलले भने, ‘आगामी दिनमा पनि पेशागत कामका अतिरिक्त सामाजिक काममा उसैगरी सक्रिय रहनेछु ।’
अवार्डसँगै उपलब्ध हुने नगद राशी भने धरेलले आफूसँग नराखी ‘नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर’लाई हस्तान्तरण गरेका छन् ।
चितवनमा जन्मेहुर्केर क्यानडाका ‘उत्कृष्ट २५ आप्रवासी’ मा पर्न सफल धरेलको नामका अघि प्राध्यापक मात्र जोडिँदैन । डाक्टर, समाजसेवी, सामाजिक अगुवाजस्ता थुप्रै ‘चिनारी’ छन् उनका । धरेलले क्यानडा कर्मथलो बनाएको दुई दशक पुग्नै लागेको छ ।
झट्ट हेर्दा धरेल होचो कदका लाग्छन् तर क्यानडाको शैक्षिक क्षेत्रमा उनको सफलता अग्लो छ । हाल प्राध्यापनरत टोरन्टोको ‘सेन्टेनियल कलेज’मा उनी ‘एकेडेमिक गभर्नर’ हुन् । प्राध्यापन पेशामा तीन दशक बिताइसकेका धरेल ‘कर्न्सन नेपाल, क्यानडा’का संयोजक पनि हुन् ।
दुई बर्षअघि ‘एसियन क्यानेडियन अवार्ड’ पाएका धरेलले सन् १९९५ मा भारतको इन्दौरस्थित ‘इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्टडिज’बाट सोसल मार्केटिङ बिषयमा पिएचडी गरेका थिए । मंगोलियाको अनुभवपछि हाल उनी क्यानडामा प्राध्यापनरत छन् ।
यहाँ विल्फ्रेड लौरियर युनिभर्सिटी वाटरलु, जर्ज ब्राउन कलेज हुँदै अहिले सेन्टेनियल कलेजको जिम्मेवार तहमा पुगेका हुन् । स्थायी रुपमा क्यानडा बसे पनि धरेल जन्मभूमिसँग हरबखत जोडिइरहने नेपाली हुन् ।
चाहे हरेक बुद्ध जयन्तीमा चन्द्र सूर्यअंकित झण्डा फहराउँदै टोरन्टोको सडकमा नेपाली र्यालीको अगुवाई गर्दा होस्, चाहे संघ संस्थाको नेतृत्व गरेर मातृभूमिप्रति के कसो गर्न सकिन्छ भन्ने कार्यक्रम गर्दा, उनी भन्ने गर्छन्, ‘शिरमा सगरमाथा र छातीमा बुद्ध बोकेर हिँडेको छु ।’