काठमाडौंमा युवतीहरूमाथि सिलसिलेबार ‘सिरिन्ज’ आक्रमण

पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् ।  सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए । उनीहरू सबैको कम्मरमा काँटीले कोपेजस्तो प्वाल रहेको र असैह्य पीडा भएपछि आएको उनले बताए । 

‘गुडिरहेको मोटरसाइकलबाटै सिरिन्ज आक्रमण भएको पीडितहरू बताउँछन् । सबैको कम्मरकै भागमा प्वाल छ, छालाभित्रसम्म रगत आउने गरी घाउ भएको छ,’ डा. बाँस्तोलाले भने, ‘रातिको समयमा घरबाहिर आक्रमणमा परेको उनीहरू बताउँछन् । घटनाबारे चारै युवतीको भनाइ एकै खालको छ,’ डा. बाँस्तोलाले भने । एचआइभी तथा हेपाटाइटिस बी र सी संक्रमित सिरिन्ज प्रहार गरिएको हुन सक्ने चिकित्सकहरूको आशंका छ । एचआइभी, हेपाटाइटिस ‘बी’ र ‘सी’जस्ता रोग सिरिन्जको माध्यमबाट अर्कोमा सर्न सक्छ । तर, उनीहरूमा यी रोग संक्रमण भए–नभएको रिपोर्ट आउन कम्तीमा तीन महिना लाग्ने डा. बाँस्तोलाले बताए । हाल चारै युवतीको स्वास्थ्य सामान्य छ । उनीहरू २० देखि ३० वर्ष उमेरका छन् । 

प्रकाशित मिति: : 2019-06-20 10:01:26

प्रतिकृया दिनुहोस्