नेपाल-भारतको सीमामा ५ हजार ४० मेगावाटको पञ्चेश्वर जलविद्युत परियोजना विकास गर्न भारतले निकै रूचि देखाएको छ। तर, अहिलेकै स्वरूपमा पञ्चेश्वर बाँध निर्माण अघि बढाइए भूकम्पको जोखिम हुने विज्ञहरूले बताएका छन्।
अन्तरसीमा पञ्चेश्वर बहुउद्देश्य परियोजना (पिएमपी) अन्तर्गत महाकाली नदीमा (भारतमा सारदा) तीन सय १५ मिटर अग्लो बाँध बनाइनेछ। यसका लागि भारत सरकारले नेपालसँग सक्रियतापूर्वक काम गरिरहेको छ। तर अनुसन्धाताले बाँधको अहिलेकै स्वरूपमा सुरक्षा र दिगोपनबारे चिन्ता व्यक्त गरेका छन्।
भारतका विभिन्न सरकारी संस्थाका अनुसन्धाताले पर्यावरणीय र भौगोलिक रूपमा संवेदनशील उत्तराखण्डको हिमालय क्षेत्रमा अवस्थित पञ्चेश्वर परियोजनाको वातावरणीय प्रभाव अध्ययन गरेका हुन्। निर्माण सम्पन्न भएपछि पञ्चेश्वर बाँध विश्वकै अग्लो पनि हुनेछ।
उत्तराखण्डको पिथौरागढ र चम्पावतवासीको सामाजिक–आर्थिक अवस्थामा आइपर्ने बाधाबाहेक त्यहाँको भूगोल र पर्यावरणमा परियोजनाले धेरै प्रभाव पार्ने शंका गरिएको छ। परियोजना स्थल भारतको ‘सिस्मिक’ क्षेत्रको नक्सामा ‘जोन फोर’मा पर्दछ। प्रस्तावित क्षेत्रमा थुपै्र भौगोलिक गडबडी भइरहेको देखिएको छ। त्यसैले पनि यहाँ जोखिम बढेको अनुसन्धाताले बताएका हुन्।
सय वर्ष यता साढे सात म्याग्निच्युडभन्दा ठूला भूकम्प असम (१९५०), बिहार (१९३४) र काँगडा (१९०५) मा आएका छन्। तर उत्तराखण्डको हिमालय क्षेत्रमा यति ठूलो म्याग्निच्युडको भूकम्प अहिलेसम्म नआएको अध्ययनमा उल्लेख छ। यही कारणले उत्तराखण्ड केन्द्रीय हिमालय ‘सिस्मिक ग्याप’ क्षेत्रमा पर्दछ’ क्षेत्रमा पर्दछ।
‘ग्याप क्षेत्रमा उच्च म्याग्निच्युडको भूकम्प आउने सम्भावना उच्च हुन्छ। तर, भूकम्प आउने समय ठ्याक्कै पूर्वानुमान गर्न सकिँदैन,’ अध्ययनमा उल्लेख छ। पञ्चेश्वर बाँधको पूर्व–सम्भाव्यता प्रतिवेदन अनुसार ७.४ म्याग्निच्युडको भूकम्प उत्पन्न गर्नसक्ने रंगुन खोलाको ‘फल्ट’ नेपालको हिमालय क्षेत्रमा पर्ने बाँधको वारपार सक्रिय छ।