कलाधर सापकोटा गीत लेख्थे । छोरा वसन्त सापकोटा त्यसमा भाका हालेर गाउँथे । गाउँले परिवेश, गाउँकै भाका, वसन्तलाई गाउन कठिन लाग्दैन थियो । जहाँ जन्मियो, जस्तो वातावरण पायो व्यक्ति त्यस्तै न हुने हो । कुमालेको काँचो माटो जस्तो । बुवा स्वयम् गीत लेख्ने भएपछि वसन्तलाई गाउन छेकबार थिएन । बुवा हौसला दिन्थे, साथीहरु उकास्थे । बालापनका वसन्तलाई के चाहियो ? गाउँथे । त्यसमाथि विद्यालयमा हुने प्रतियोगितामा जित्ने कलमकापीले उर्जा थप्थ्यो । जोशिन्थे । थुमाकु डाँडामा हुने भजनकिर्तनमा गाउँथे वसन्त ।
‘पानको पात’, ‘बाँबरी फूलको बोट’ गीतका भाका लिन्थे । शब्द आफैं बनाउँथे र गाउँथे । प्रतियोगितामा उनी कहिल्यै दोस्रो हुनु परेन । ०५२ सालमा एसएलसी दिए । नतिजाले उच्च शिक्षाका लागि बाटो खोलिदियो । पीएन क्याम्पसमा शिक्षाशास्त्र संकाय लिएर पढ्न थाले । रुची गायनमा थियो । स्थानीय स्तरमा हुने प्रतियोगिता नै किन नहोस् ? उनले बाजी मारेकै थिए । उनकै शब्दमा वसन्तले कहिल्यै दोस्रो हुुनु परेन ।
त्यसो भए किन पढेनन् संगीत ? र, भर्ना भए शिक्षा संकायमा ?
बिर्सिएका छैनन् वसन्तले । बुवा कलानिधी शिक्षक थिए । उनी छोरालाई पनि शिक्षक नै बनाउन चाहन्थे । गाउँमा शिक्षकको छुट्टै शान शौकत थियो । आफूले पाएको इज्जत उनी छोरामा सरोस् भन्न चहान्थे । बाउको बिँडो थामोस् भन्ने चहाना थियो । त्यसैले उनलाई बुबाले शिक्षा शास्त्र संकायमा भर्ना गरिदिए । मन त थिएन । तर मान्नै पर्यो ।
एक वर्ष पढेपछि मनले मानेन । मुखै फोरे । पढ्दिन शिक्षा । बन्दिन शिक्षक । पढ्छु संगीत । र, बन्छु गायक । छोराको चाहनालाई रोक्नु मनासिव ठानेनन् कलानिधीले ।
०५४ सालमा ललितकला पढ्न काठमाडौं आए । आईए पढे । ०५८ मा उनी पोखरा नै फर्किए । काठमाडौंमा उनले त्यो बेला संगीतकर्मीलाई नचिनेका होइनन् । गायक–गायिकासँग चिनजान नभएको पनि होइन । तर भन्ने आँट आउँदैन थियो । “सुरेश अधिकारीसँग पनि चिनजान थियो । महेश खड्कालाई पनि चिन्थेँ । तर उहाँहरु त्योबेलाका चर्चित संगीतकार तथा गायक हुनुहुन्थ्यो । त्यसैले म पनि यस्तो हुँ लौन भन्ने आँट आउँदैन थियो,” सुरेश सम्झनाको पोको खोल्छन् र तत्कालीन बाध्यताको कहर सुनाउँछन्, “बुबाले अब म पैसा पठाउन सक्तिन । केही काम गरेर बस्ने भए बस् हैन भने गाउँ नै फर्कि भन्नुभयो । काठमाडौंमा काम गर्नेखालको वातावरण बनेन र म फर्किएँ ।”