नाइजेरियालाई हराउँदै घरेलु टोली फ्रान्स महिला विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
प्रतियोगिता अन्तर्गत सोमबार राति भएको खेलमा नाइजेरियालाई १–० को झिनो अन्तरमा हराउँदै फ्रान्स सतप्रतिशत जितसहित समूह विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो।
एउटै पेनाल्टी दुई पटक प्रहार गर्न पाएको आयोजक फ्रान्स नाइजेरियालाई हराएपछि समूह विजेता भएको हो।
अत्यान्तै प्रतिश्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा केही आक्रमक देखिएको घरेलु टोलीलाई नाइजेरीयाले रोकेको थियो। तर, खेलको ७५ औं मिनेटमा इवेरी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नाइजेरिया १० खेलाडीमा सीमित भयो।
त्यसको केही मिनेटपछिनै फ्रान्सले पेनाल्टी पायो।
विविएनी एसियीमाथि भएको फउलको भिडियो एसिस्टेन्ट रेफ्री मार्फत रिभ्यू गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए।
फ्रान्सकी वेन्डी रेनार्डले पेनाल्टी प्रहार गरिन्, तर नाइजेरियाकी गोलरक्षक चिएमाका नाडोजिएले चाँडै नै लाइनबाट क्रस गरेकाले रेनार्डले फेरि पेनाल्टी प्रहार गर्न पाइन् । पुनः प्रहार गरेको पेनाल्टीमा रेनार्डले गोल गरिन्। यो सँगै अग्रता लिएको फ्रान्सले त्यसपछि दुबै तर्फआट गोल नहुँदा १–० ले विजयी भयो।
यस्तै समूह ए बाट फ्रान्स बिजेता र २ खेल जितेको नर्वे उपविजेताका रूपमा अन्तिम १६ मा पुगेका छन्।
पराजित नाइजेरियाका लागि पनि उत्कृष्ट तेस्रो भएर अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ।
यस्तै समूह बी अन्तर्गत सोमबार राति नै भएको खेलमा दक्षिण अफ्रिकालाई ४–० ले हराउँदै जर्मनी समूह विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ।
यस्तै चीनसँग गोलरहित बराबरी खेलेको स्पेन समूह उपविजेताको रूपमा दोस्रो चरण प्रवेश गरेको छ।
चीनसँग समान चार अंक नै भए पनि स्पेन गोल अन्तरका आधारमा समूह उपविजेता बनेको हो। तेस्रो स्थानमा रहने उत्कृष्ट टिमका रुपमा चीनले पनि अघिल्लो चरणमा स्थान बनाएको छ।
यस्तै समूह सी बाट इटाली दोस्रो चरण प्रवेश गरेको छ। बाँकिको टुंगो लाग्न बाँकी छ।
यस्तै समूह डीबाट इंल्याण्ड र जापान दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। अर्जेन्टिनाको उत्कृष्ट तेस्रो भएर प्रवेश गर्नसक्ने सम्भावना बाँकी छ।
समूह ई बाट नेदरल्याण्ड समूह विजेता र क्यानडा दोस्रो हँदै अन्तिम १६ मा प्रवेश गरिसकेका छन्।
समूह एफबाट अमेरिका र स्वीडेन अन्तिम १६ मा प्रवेश गरिसकेका छन्।
हरेक समूहका विजेता र उपविजेता गरी १२ टोली र उत्कृष्ट तेस्रोका चार टोली अन्तिम १६ मा प्रवेश गर्नेछन्।