प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण पूरा गरी आइतबार विहान १० बजेर २५ मिनेटमा काठमाडौँ आइपुग्नेछन् । उनी २२ सदस्यीय आफ्नो जम्बो टोलीसहित शनिबार साँझ ५ बजे स्वीट्जरल्यान्डको जेनेभाबाट कतार एयरवेजको विमान चढिरसकेका छन् । उनी जेठ २५ गते स्विट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा निस्केका थिए ।
प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा सहभागी हुन स्वीट्जरल्यान्डको जेनेभा गएका थिए । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत गएका थिए ।
तीन दिन बेलायत बसेका ओली अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको एक समारोहका अतिथि बने । उनले त्यहाँ राजकुमार ह्यारी, कामचलाउ प्रधानमन्त्री टेरिजा मे र प्रतिपक्षी लेबर नेता जेरेमी कोर्विन सँग भेटघाट गरेका थिए । उनले त्यहाँ नेपाली डायस्पोराका विभिन्न संघ संस्थाका प्रतिनिधिलाई पनि भेटेका थिए । बीबीसीको स्टुडियो पुगेर प्रधानमन्त्री ओलीले अन्तर्वार्ता पनि दिएका थिए ।
बेलायतबाट रेल चढेर फ्रान्स पुगेका उनले त्यहाँ आफ्ना समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । फ्रान्सको सलोनी क्षेत्रमा घुम्न गएको बेला झण्डै एक घण्टा केबुलकारमा अड्केका प्रधानमन्त्री यो समाचार फ्रान्सका स्थानीय सञ्चार माध्यमले सार्वजनिक गरेका थिए ।
प्रधानमन्त्री ओलीको यो भ्रमणको प्रोटोकल र बिना तयारी गरिएको भनेर आलोचना पनि भएको थियो ।
प्रकाशित मिति:
: 2019-06-15 23:19:55