जनकपुरधाम : २५ वर्षअघिसम्म जनकपुरमा टोलैपिच्छे मन्दिर र कुटी भेटिन्थे। यतिबेला ती मन्दिर र कुटी छैनन्। मन्दिर र कुटी त हराए–हराए, भगवान्का मूर्ति पनि गायब भए। अहिले बाँकी छन् केही मन्दिरका भग्नावशेष मात्र।
पछिल्लो दुई दशकमा जनकपुरमा ४० भन्दा बढी मन्दिर मूर्तिसहित हराएका छन्। कुनै बेला मन्दिर रहेका ठाउँमा अहिले ठूलठूला भवन छन्। जानकी मन्दिरका कारण प्रसिद्धि कमाएको जनकपुरमा ठूलो संख्यामा साधुसन्त आउँथे। छिमेकी भारत र स्वदेशकै साधु जनकपुर आएर भजनकीर्तन गरी रमाउँथे। ती साधुको भक्तिबाट आकर्षित भई जग्गादान दिने परम्परा थियो। ‘सबै कुटीमा रामजानकीकै पूजा हुन्थ्यो,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशनदास वैष्णव भन्छन्, ‘ती कुटी स्थापना गरेका साधुसन्तका नामबाट मन्दिरको नाम राखिन्थ्यो।’
सबै मन्दिर सम्पन्न थिए। तर भूमाफियाको चलखेल र मन्दिर संरक्षककै मिलोमतोमा कुटी मासिँदै गए। कुटीले दानमा पाएको जग्गा व्यक्तिमा नामसारी हुन थाल्यो र बिस्तारै भगवान्का मूर्तिसमेत बेचिए।
२०२२ सालमा गुठी संस्थान ऐन आयो। नेपाली नागरिकता नभएका साधुसन्तले मठमन्दिरको जग्गा चलाउन नपाउने जस्ता स्वामित्वका विषयमा विभिन्न नियम बने। कतिपय साधुसन्तले नेपाली नागरिकता भएका आफ्ना चेलालाई मठमन्दिरको स्वामित्व सुम्पिए। तर, संरक्षणको जिम्मेवारी लिएका पुजारी र महन्थले मन्दिरको जग्गा भूमाफियासँग मिलेर बिक्री गरेपछि ती मन्दिर लोप भए।
कतिपय मन्दिर र जग्गा सरकारी स्वामित्वमा राखेर प्रयोगमा ल्याइएको छ। तर, अधिकांश मन्दिर निजी रूपमै अतिक्रमणमा परेका छन्।