संरक्षण र प्रचारप्रसारका अभावमा ओझलमा परेका मुस्ताङको ऐतिहासिक घरपझोङ किल्लाको संरक्षण गर्ने भएको छ । संरक्षणको अभावमा सो किल्लाको अस्तित्व नै सङ्कटमा परेको थियो ।
पर्यटकीय सम्पदास्थलका रुपमा विकास गर्ने लक्ष्यसहित घरपझोङ गाउँपालिकाले संरक्षण योजना ल्याएको हो। गाउँपालिकाले यसका लागि गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएको थियो।
किल्ला संरक्षण योजनाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा ३६ लाख बजेट विनियोजन गरिएको छ। उक्त बजेटबाट पर्खाल र प्रवेशद्वार लगायतका पूर्वाधार निर्माणको काम भइरहेको छ। ‘भग्नावशेष बनेका संरचनाहरुको पहिचान र संरक्षण गर्दैछौँ’, गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले भने।
पुरातात्विक महत्व झल्कने गरी पूर्वाधार खडा गर्ने योजना गाउँपालिकाको छ। किल्लामा १६औँ शताब्दीका दरबार र घरका भग्नावशेष छन्। स्थानीय राजा थोकरचेनले सोही किल्लाबाट शासन चलाएको इतिहास छ ।
घरपझोङ किल्लाले इतिहासविद् र अनुसन्धानकर्मीको समेत ध्यान खिचेको गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले बताइन्। ‘घरपझोङ किल्लामा थकाली जातिका पूर्वजहरुको बस्ती थियो’, उनले भनिन्, ‘पछि उक्त बस्ती थाक पाँच गाउँको रुपमा स्याङ्, ठिनी, मार्फा, छैरो र चिमाङ सरेको बताइन्छ।’
सोही किल्लाको नामबाट गाउँपालिकाको नामाकरण भएको थियो। सङ्घ र प्रदेश सरकारको पनि ऐतिहासिक महत्वको किल्ला संरक्षणमा चासो बढेको छ। यसको संरक्षणका लागि गण्डकी प्रदेश सरकारले पनि चालू आवमा ४० लाख बजेट विनियोजन गरेको छ।
उक्त बजेटबाट हरियाली बगैँचा, पदमार्ग, सूचना केन्द्र, विश्रामस्थल जस्ता पर्यटनमैत्री पूर्वाधार बन्दैछन्। जोमसोमदेखि किल्लासम्म पुग्ने सडकलाई पनि स्तरोन्नति गर्ने योजना गाउँपालिकाको छ।
किल्ला क्षेत्रमा केही वर्षअघि स्थानीयवासीले चैत्य बनाएका थिए। थकाली समुदायले आफ्नो पुख्र्यौली थलोका रुपमा घरपझोङ किल्लालाई मान्छन्। किल्लाको नजिकै थकाली बाहूल्य ठिनी गाउँ छ ।
‘घरपझोङ किल्ला संरक्षणमा गाउँले पनि जुट्नुपर्छ’ ठिनीवासी निरज थकालीले भने, ‘मुस्ताङको पर्यटनमा यसबाट थप टेवा पुग्छ।’
पर्यटकसँगै इतिहासका विद्यार्थी र अध्येतालाई समेत किल्लाले आकर्षित गर्नेछ ।
घरपझोङको अर्थ सबैले मन पराएको गाउँ भन्ने बुझिन्छ। ‘गरावजोङ’ शब्द अपभ्रङ्स हुँदै ‘घरपझोङ’ बनेको स्थानीयवासी बताउँछन्। किल्लाबाट ठिनी गाउँ, ढुम्बा ताल, नीलगिरि, धवलागिरिलगायतका हिम शृङ्खला अवलोकन गर्न सकिन्छ।
घरपझोङ गाउँपालिका–५ मा पर्ने किल्ला जोमसोमदेखि झण्डै तीन किमिको दूरीमा छ । पैदल जाँदा ४५ मिनेटमा पुगिन्छ। पर्यटकीय गाउँ ठिनी, ढुम्बा तालहुँदै घरपझोङ किल्ला पुग्न सकिन्छ।
किल्ला पुग्दा नजिकमा रहेका हिउँ चितुवा गुफा, कुछुप तेरेङ्गा गुम्बालगायतका पर्यटकीय गन्तव्य पनि घुम्न सकिन्छ। मुस्ताङमा आठौँ शताब्दीको मध्यतिर ‘शे–रिव’ नामको स्थानीय राज्य हुँदा त्यसको केन्द्र अहिलेको घरपझोङ भन्ने स्थानमा रहेको इतिहासमा उल्लेख छ ।