श्रीलङ्काका तिब्र गतिका बलर लासिथ मालिङ्गा स्वदेश फर्किएका छन्।
मालिङ्गाले सासूआमाको अन्त्येष्टि समारोहमा उपस्थित हुन चाहेकाले उनलाई मंगलबारदेखिनै विदा दिइएको श्रीलङ्काको क्रिकेट बोर्डले जानकारी दिएको छ ।
सन् १९९६ को विश्वकप विजेता श्रीलंकाले मालिङ्गा विना नै बेलायतको ब्रिस्टोलमा हुने खेल खेल्नेछ भने अर्को दिन अष्ट्रेलियाविरुद्धको खेलमा उनी फिर्ता हुने बोर्डले जनाएको छ।
श्रीलङ्काको क्रिकेट बोर्डद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मालिङ्गा आफ्नी सासूआमाको मृत्युका कारण शोकमा परेका र अन्त्येष्टिका लागि मङ्गलबार नै श्रीलङ्का जाने कार्यक्रम तय भएका कारण उनलाई खेलमा समावेश गरिने छैन।’
उनी जुन १५ मा हुने खेलमा सहभागी हुन एक दुईदिनभित्रमा नै बेलायत फर्किनेछन्।
श्रीलङ्काले यस बर्षको विश्वकप क्रिकेटमा अहिलेसम्म चार खेल खेलेको छ। उसको न्यूजिल्याण्ड र अफगानिस्तानसँगको खेलमा न्यूजिल्याण्डसँग पराजय भएको थियो भने अफगानिस्तानमाथि जीत हाँसिल गरेको थियो। आज मंगलबार हुने भनिएको बंगलादेशविरूद्धको खेल वर्षाले रद्द भएपछि अहिलेसम्म जम्मा ४ अङ्क ल्याएको छ।