प्रसंग १
सन् २०११, चीनको उत्तरपश्चिम स्वशासित क्षेत्र सिन्जियाङ। यहाँ थ्रीजी मोबाइल डाटा नेटवर्क भर्खर पुगेको छ। एकाध वर्षमा यहाँका अल्पसंख्यक उइगर समुदायका झन्डै सबै वयस्कहरुका हातमा स्मार्टफोन पुग्छ। जनजीवन एकाएक निकै सहज बन्न पुग्छ र उइगरहरुले सशक्तिकरणको महसुस गर्छन्।
सरकारी सञ्चारमाध्यममा खाली केन्द्रबाट ठाडै लादिएका सञ्चार सामाग्री मात्र ग्रहण गर्ने गरेका उइगरहरुबीच अभूतपूर्व रुपमा सूचनाको तेर्सो (होरिजेन्टल) प्रवाह सम्भव हुन्छ। चीनका सजातीय उइगरहरु मात्रै नभई टर्की, काजकिस्तान र किर्गिस्तानका ‘टर्किक’ मुसलमान समाजहरु एउटै अनलाइन समुदायमा जोडिन्छन्। अब्लाजान आयुपजस्ता उइगर कलाकार रातारात स्टार बन्छन्।
खासगरी माओको सांस्कृतिक क्रान्तियता चर्को सांस्कृतिक दमनमा परेका चीनियाँ उइगरहरुमा सांस्कृतिक र धार्मिक पुनर्जागरण आउँछ। धार्मिक अपनत्वको भावना विकसित भएसँगै मानिसहरुमा धार्मिक पोसाक लगाउने र नियमित मस्जिद जाने बानी बस्छ।
अर्थात्, हातमा रहेको इन्टरनेट जडित मोबाइल राज्यको निसासलाग्दो नियन्त्रण खुकुलो बनाउन प्रभावकारी हुन्छ।
सन् २०१७ अर्थात ६ वर्षपछि। अलिम नामक उइगर युवा विदेश पढेर फर्कंदैछन्। विमानबाट ओर्लेर चीनमा टेक्नासाथ पुलिसले उनलाई पक्राउ गर्छ। कारणः उनको विदेश यात्राका कारण उनी ‘असुरक्षित’ व्यक्तिको आशंकामा छन्। पुलिसले उनको ‘स्वास्थ्य जाँच’ गर्छ। त्यसअन्तर्गत उनको डिएनए, रक्त समूह, औंठाछाप, आवाजको रेकर्ड र अनुहारको स्क्यान पर्छ।