प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली यतिबेला स्विटजरल्याण्डतिरको यात्रामा आकाशमा उडिरहेका छन् । उनी २४ सदस्यीय जम्बो टोलीका साथ स्विटजरल्याण्ड उडेका हुन् । फर्कदा उनी बेलायत र फ्रान्स पनि पस्नेछन् । यो उनको नौदिने भ्रमण हो । यसघि उनले यति लामो म्याराथन भ्रमण गरेका थिएनन् ।
प्रधानमन्त्री ओली यसअघि जनवरी २० मा स्विटजरल्याण्ड पुगेका थिए । त्यतिबेला सातदिने भ्रमण गरेका उनी पाँच महिना नबित्दै फेरि स्विटजरल्याण्ड पुगेका छन् । यी दुबै भ्रमण राजकीय वा सरकार प्रमुखका हैसियतले गरिएका भ्रमण हैनन्, सम्मेलन भ्रमण मात्र हुन् ।
सम्मेलन भ्रमण भए पनि कम्तिमा पनि २२ सदस्यीय जम्बो टोली रहेकै छ । एक दुईजना मन्त्री, दुई तीनजना सांसद, दुई तीनजना सचिव, सल्लाहकार, निजी चिकित्सक, सुरक्षाकर्मी, सरकारी सञ्चारमाध्यमका संवाददाता, फोटोग्राफर, क्यामरा पर्सन अनि किचेनक्याविनेटका आफन्तहरू जोड्दाजोड्दै कम्तीमा २२ त पुगी नै हाल्छ । आफूले एकजना हालेपछि परराष्ट्र मन्त्रालयका हाकिमहरूले पनि एक दुईजना थईने नै भए । तै चुप मै चुप भएपछि परराष्ट्र मन्त्रालयका सचिवसहित आधा दर्जन उच्च अधिकारी भ्रमण दलमा संलग्न हुन्छन् ।यसले गर्दा परराष्ट्र मन्त्रालयको कामकाज नै ठप्प हुने स्थिति पैदा हुन्छ ।
नेपालजस्तो हात फुकी फुकी डलर खर्च गर्नुपर्ने अवस्थाको देशका प्रधानमन्त्रीका लागि यो भ्रमण अलि बढी नै भयो कि ? भनेर प्रश्न उठ्न थालेको छ । कतिपय भ्रमण वाञ्छनीय देखिए पनि कतिपय भ्रमण लहडका भरमा गरिएका छन् । यतिसम्म कि प्रधानमन्त्री ओली मानार्थ विद्यावारिधीको सम्मान लिनकै लागि कोस्टारिकासम्म पनि पुगेका छन् । भियतनाम र कम्बोडियाको भ्रमणको महत्व र उपलब्धी जति नै देखाए पनि हुनेवाला केही छैन ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा देखिने खर्च जति छ, नदेखिने खर्च पनि कम हुदैन । एकपटकको भ्रमणमा करोडोैको खर्च आउँछ । भ्रमणदलमा रहेकाले लुगाभत्तासम्म पाउँछन् । तलव भत्ता, बस्ने खाने दिएर मात्र पुग्दैन, डलरमा दैनिक पकेट खर्च पनि दिनुपर्छ । भ्रमणदलमा सहभागी सदस्यहरू कम्तीमा पनि एकसय ५० देखि दुई सय ५० डलर त पकेट खर्च नै पाउँने हुन्छन् । त्यसमा पनि युरोप र अमेरिका भ्रमण जाँदा ३३ प्रतिशत थपिलिनु पर्छ । यसपटक प्रधानमन्त्रीका नाममा मात्र दुईहजार नौसय ९२ डलर ५० सेन्ट पकेट खर्च दिनुपर्छ । उनकी धर्मपतन्नीले पनि त्यति नै पाउँछिन् । यसरी जोड्दा प्रधानमन्त्री परिवारमै पकेट खर्च मात्र पाँहजार नौ सय ८५ दिनुपर्ने हुन्छ । यस्तो पकेट खर्च २२ जनाले पाउँछन् ।
प्रधानमन्त्री ओली पछिल्लोसमय पर्टन प्रधानमन्त्री जस्तै हुन थालेका छन् । उनका किचेन क्याविनेटका सदस्य र परराष्ट्रका केही अधिकारी त प्रधानमन्त्रीको भ्रमणको निम्तो मगाउन नै ब्यस्त हुन थालेका छन् । नेपालको महत्व खासै नहुने भएकाले धेरैले निम्ता नपठाएर मात्र हो, प्रयास गरेअनुसार सबैले पठाउने भए प्रधानमन्त्री ओलीको भ्रमण योभन्दा धेरै बाक्लो हुन्थ्यो ।
यस्तै अवस्थामा पनि उनी पछिल्लो १५ महिनामा सात पटक देश छोढ्दा नौ भ्रमणमा गरिसकेका छन् । उनी भारत र स्विटजरल्याण्ड दुईदुई पटक पुगेका छन् । भ्रमणका क्रममा उनले कम्तीमा पनि २२ जनाको जम्बो टोलीसहित ४१ दिन विताएका छन् । यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सथ ग्रहणका क्रममा भएको भारत भ्रमणलाई भने अपवादका रूपमा राख्नुपर्ने हुन्छ ।