भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय अध्यागमनको दादागिरिका कारण अनाहकमा नेपाली यात्रहरूले दु:ख पाउँदै आएका छन् । लामो समयदेखि जारी श्रृंखलाको पछिल्लो क्लाइमेक्सका रूपमा शुक्रबार नेपाल जान लागेका नेपाली यात्रुलाई विमानस्थलमा प्रवेशमै रोक लगाइयो ।
भारतीय अध्यागमनको यो दादागिरि थाहा पाउँने बित्तिकै नयाँदिल्लीस्थित नेपाली दूतावासले आधिकारिक रूपमै आपत्ति जनाएको थियो। त्यसको जानकारी दिदै नेपाली दूताबासले आफ्नो ट्विटरमा लेख्यो-‘हामीले हिजो केही नेपाली यात्रु इन्दिरा गान्धी विमानस्थलमा रोकिएको थाहा पायौं। हामीले तुरुन्तै सम्बन्धित अधिकारीलाई यसबारे भन्यौं कि, ‘यो दुर्भाग्य हो।’
नेपाली दूताबासले आधिकारिक रूपमा भारतीय विदेश मन्त्रालयमा आपत्ति जनाएपछि यो विषय साउथ ब्लकमा अलि महत्वकै साथ प्रवेश पायो । लगत्तै भारतीय अधिकारीहरू पनि एक्सनमा आए । परिणामत: नेपालीले विमानस्थलमा प्रवेश पाए र तत्कालका लागि समस्याले समाधान पायो ।
समस्या समाधानपछि भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले भने- 'यो हाम्रो नीति हैन । गल्ती भयो । फेरि यस्तो दोहोरिदैन ।'
भारत सरकारको यस्तो नीति नरहे पनि अधिकांश भारतीय अधिकारीहरूको दिमाखमै नेपालीहरूलाई हेप्नुपर्छ भन्ने विभेदकारी सोचले जरा गाडेको छ । त्यसैको प्रदर्शनी हुँदा नेपाली यात्रुहरूले खासगरी भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा दु:ख पाउँदै आएका छन् ।