वेष्ट इन्डिजमाथि अष्ट्रेलियाको रोमाञ्चक जित

Agency

तीव्र गतिका बलर मिचेल स्टार्कले घातक बलिङ गरेसँगै इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ।

बिहीबार राति वेस्ट इन्डिजलाई १५ रनले हराउँदै लगातार दोस्रो जित निकालेको हो।

अष्ट्रेलियाले दिएको २ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै क्षतिमा २ सय ७३ रन मात्र बनायो।

वेस्ट इन्डिजका लागि शाई होपले सर्वाधिक ६८ रन बनाउँदा कप्तान जासोन होल्डरले ५१ रनको अर्धसतकीय पारी खेले।

यस्तै निकोशास पुरानले ४० रन बनाउँदा क्रिश गेल र सिम्रन हिटमायरले समान २१-२१ रन बनाए।

ओपनर ईभिन लुईसलाई १ रनमै गुमाएको वेष्टइन्डिजका बिस्फोटक ब्याट्समेन क्रिस गेल २१ रनमै आउट भए।

तर, तेस्रो विकेटका लागि शाई होप र निकोलस पुरनले ६८ रनको साझेदारी गर्दै इनिङ उकास्ने कोशिश गरेका थिए।

आन्द्रे रसेलले १५ रन बनाउँदा कार्लेस वर्थवेटले १६ रन जोडे। यस्तै शिल्डन कोर्टेलले १ रन बनाउँदा एलशे नर्शले अन्तिममा लगातार चार चौकासहित १८ बलमा अभिजित १९ रन जोडे पनि टोलीलाई जिताउन सकेनन्।

अष्ट्रेलियाको जितमा मिचेल स्टार्कले १० ओभरमा १ मेडन सहित ४६ रन खर्चेर ५ विकेट लिए। प्याट कमिन्स २ र एडम जम्माले १ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलिया ४९ ओभरमा अल आउट हुँदै २ सय ८८ रन बनाएको थियो।

अष्ट्रेलियाका लागि अलराउण्डर नाथन कुल्टर नाईलले तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्दै ९२ रनको महत्वपूर्ण योगदान दिए। कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई बलियो लक्ष्यसम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेको नाईलले ६० बलमा ८ चौका र ४ छक्का प्रहार गरे।

त्यस्तै पूर्वकप्तान स्टिभ स्मिथले ७३ रनको महत्वपूर्ण योगदान दिँदै अष्ट्रेलियालाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याउन सफल भए।

एक तर्फबाट निरन्तर विकेट गुम्दा स्मिथले अर्को तर्फबाट रन जोडिरहे। स्मिथले १ सय ३ बलमा ७ चौका प्रहार गरेका थिए।

कमजोर अवस्थामा पुगेको अष्टेलियालाई सातौं विकेटका लागि स्मिथ र नाईलले १ सय २ रनको शतकीय साझेदारी गर्दै सम्मानजनक स्कोरमा पुर्‍याएका थिए।

एक समय ७९-५ को कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई स्मिथ र विकेटकीपर एलेक्स केरिले ६८ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ उकासे।

केरिले ४५ रन जोड्न ५५ बलमा ७ चौका प्रहार गरे।

कमजोर सुरूवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका रुपमा तेस्रो ओभरको दोस्रो बलमा कप्तान आरोन फिन्चलाई ६ रनमा गुमाएको थियो। चौथो ओभरको अन्तिम बलमा शिल्डन कोर्टेलले शिम्ररोन हिटमायरबाट क्याच गराउँदै डेविड वार्नरलाई ३ रनमा पेभिलिएन फर्काए। सातौं ओभरको अन्तिम बलमा रसेलले होपबाटनै उस्मान खवाजालाई १३ रनमा क्याच आउट गराउदै आफ्नो दवाव कायमै राखे।

आठौं ओभरको चौथो बलमा ग्लेन म्याक्सवेल खराव शट शेल्दै शून्यमा आउट भएपछि अष्ट्रेलिया संकटमा परेको थियो। मार्कस स्टोइनिस १९ रनमा आउट भए।

वेस्टइन्डिजका लागि कार्लोस बर्थवेटले सर्वाधिक ३ विकेट लिए। ओशन थोमस, शिल्डन कोर्टेल र आन्द्रे रसेलले समान २-२ विकेट लिए। कप्तान जोसन होल्डरले १ विकेट लिए।

यसअघि पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो। यो जितसँगै २ खेलबाट ४ अंक जोडेको अष्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

यता पहिलो खेलमा शानदार जित निकालेको वेष्टइन्डिज यो हारका बाबजुद पनि २ अंकसहित तेस्रो स्थानमा कायमै छ।

भोलि पाकिस्तान र श्रीलंका एकआपसमा भिड्नेछन्। समान २-२ खेलबाट समान १-१ खेल जितेका उनीहरू दोस्रो जितको खोजीमा हुनेछन्।

प्रकाशित मिति: : 2019-06-07 00:38:18

प्रतिकृया दिनुहोस्