उपकप्तान रोहित शर्माको अविजित शतकसँगै भारतले इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ।
दक्षिण अफ्रिकालाई बुधबार ६ विकेटले हराउँदै भारतले विश्वकपमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ।
२ सय २८ रनको लक्ष्य पछ्याएको भारतले ४७.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। भारतलाई सहज जित दिलाउन रोहितले अभिजित सतक प्रहार गरे।
आफ्नो एक दिवसीय करियरको २३ औं तथा विश्वकपको दोस्रो शतक पुरा गर्ने क्रममा उनले १२८ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे।
जम्मा १ सय ४४ बल खेलेका उनले १३ चौका र २ छक्का सहित १ सय २२ रनमा अविजित रहे।
चौका हान्दै खेल जिताएका हार्दिक पान्ड्याले ७ बलमा ३ चौकासहित १५ रनमा अविजित रहे।
कमजोर सुरूवात गरेको भारतले पहिलो विकेटका रुपमा ओपनर शिखर धवनलाई मात्र ८ रनमा गुमाएको थियो। छैठौं ओभरको पहिलो बलमा कागिसो रबाडाले क्विन्टन डी कबाट क्याच गराउँदै धवनलाई सस्तैमा पेभिलिएन फर्काए।
त्यसपछि क्रिजमा आएका कप्तान विराट कोहली पनि लामो समय टिक्न सकेनन्। १६ औं ओभरको तेस्रो बलमा विकेटकीपर क्विन्टन डी ककले उत्कृष्ट क्याच लिँदै कोहलीलाई १८ रनमा पेभिलिएन फर्काए।
तर तेस्रो विकेटका लागि रोहित र लोकेश (केएल) राहुलले ८५ रनको साझेदारी गर्दै भारतलाई सहज जितको बाटो देखाए।
३२ औं ओभरको तेस्रो बलमा रबाडाले फाफ डु प्लेसिसबाट क्याच आउट गर्दै साझेदारी तोड्नुअघि राहुलले ४२ बलमा २ चौका सहित ३० रन जोड्न भ्याएका थिए।
त्यसपछि रोहितले पूर्वकप्तान महेन्द्र सिं धोनीसँग ७४ रनको साझेदारी गर्दै टोलीलाई सहज जितको दिशा देखाए। तर, ४७ औं ओभरको पहिलो बलमा धोनी क्रिस मोरिसबाट आउट हुनुअघि ३४ रन जोडे।
४६ बल खेलेका धोनीले २ चौकासमेत प्रहार गरेका थिए।
दक्षिण अफ्रिका लागि कागिसो रबाडाले २, क्रिस मोरिस र एन्डिले फेहकुवलोले समान १-१ विकेट लिए पनि हार टार्न सकेनन्।
यसअघि साउथह्याप्टनमा टस जितेर पहिले ब्याटिङ गरेको अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो।
अफ्रिकाका लागिक्रिस मोरिसले सर्वाधिक ४२ रनको योगदान दिए। यस्तै कप्तान फाफ डु प्लेसिसले ३८, एण्डिले फेलुकवाओले ३४, डेभिड मिल्लरले ३१ तथा कागीसो राबडाले ३१ रनको योगदान दिएका थिए।
एक समय ३९.३ ओभरमा १५८-७ को कमजोर अवस्थामा पुगेको अफ्रिकालाई आठौं विकेटका लागि क्रिस मोरिस र कागिसो रबाडाले ६६ रनको साझेदारी गर्दै मध्यम योगफलसम्म पुर्याए।
अफ्रिकालाई सस्तैमा रोक्न युजभेन्द्र चाहलले १० ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए। जसप्रित बुमराह र भुवनेश्वकर कुमारले समान २-२ विकेट लिए। कुलदीप यादवको नाममा १ विकेट रह्यो।
यो जितसँगै प्रतियोगितामा सुखद सुरूवात गरेको भारतले पहिलो खेलबाट महत्वपूर्ण २ अंक जोड्दै अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ।
दयता लगातार खराब प्रदर्शन गर्दै आएको दक्षिण अफ्रिकाले लगातार तेस्रो हार व्यहोरेको छ।
३ खेलमा तीनै हार व्यहोरेको दक्षिण अफ्रिकाका लागि अगाडिको यात्रा केही कठिन बनेको छ।