प्रदीप गिरि भन्दै थिए, ‘या त यो बजेटबाट समाजवाद शब्द हटाइदिनुस्, म खुसी हुनेछु, या सहरलाई गाउँ बनाइदिनुस् म तपाईंलाई धन्यवाद दिनेछु ।’
बजेटबारे एउटा आधारभूत कुरा भन्छु । उर्दूमा एउटा कथन छ– लुकमे के फेर से खुदा जुदा हो जाता है । उर्दूमा एउटै शब्दमा चन्द्रबिन्दु राखे त्यो खुदा (ईश्वर) हुन्छ, हटाए जुदा (विछोड) हुन्छ । बजेटको ४७ पेजमा ‘आधुनिक सभ्यताका मानक नै सुविधायुक्त सहर भएको र मुलुकको विकासको स्वरूप सहरी पूर्वाधारबाटै प्रतिबिम्बित हुने यथार्थलाई ध्यान दिँदै सहरी विकासको कार्यक्रम प्रस्तुत गरेको छु,’ भनिएको छ ।
यस पंक्तिमा एउटा शब्द फेरिदिने हो भने मलाई यो बजेट पूर्णतः स्वीकार छ । त्यो खुदालाई जुदा बनाउने शब्द हो । के आधुनिक सभ्यताको मानक सहर हो त ? काठमाडौंलाई सहरको सट्टा कहर बनाएर पनि चित्त बुझेन ? कहरको अर्थ हो बर्बादी । यसलाई तपाईं ठाँटले ‘आधुनिक सभ्यताको मानक नै सुविधायुक्त गाउँ ...’ लेख्न सक्नुहुन्न ? के गाउँलाई सुविधायुक्त बनाउन सकिँदैन ? गाउँलाई नै सुविधायुक्त बनाउनु आजको नेपालको चुनौती हो कि होइन ? एउटा शब्द छ, पियुआरए (प्रोभाइडिङ अर्बन एमेनेटिज टु रुरल एरियाज्) ।