घरेलु टोली इंग्ल्याण्डलाई हराउँदै पाकिस्तानको सानदार जित

तस्बिरः एजेन्सी

घरेलु टोली इंग्याल्याण्डलाई हराउँदै पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ।

सोमबार भएको खेलमा आयोजक इंग्ल्याण्डलाई १४ रनले हराउँदै पाकिस्तानले दोस्रो खेलबाट पहिलो जित निकालेको हो।

नटिङघममा पाकिस्तानले दिएको ३४९ रनको फराकिलो लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३३४ रन मात्र बनाउन सक्यो ।

उसका लागि जोय रूट र जोस बट्लरले शतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

रूटले १०७ रन बनाउने क्रममा १०४ बल खेल्दै १० चौका र १ छक्का प्रहार गरेका थिए।

यस्तै बट्लरले ७६ बलमा ९ चौका र २ छक्कासहित बिस्फोटक ब्याटिङ गर्दै १०३ रन जोडेका थिए।

यस्तै जोनी ब्रैस्टोले ३३ रन बनाउँदा क्रिस वोक्स २१ तथा मोइन अलीले १९ रन जोडे।  अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न नसक्दा घरेलु टोली झिनो अन्तरमा पराजित भयो।

पाकिस्तानका वाहब रियाजले ३ विकेट लिँदा मोहमद आमिर र शादब खानले २-२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन बनाएको थियो।

पाकिस्तानका लागि मोहमद हाफिज, बाबर आजम र सर्फ्राज अहमेदले अर्धशतकीय इनिङ्स खेलेका थिए।

पाकिस्तानका लागि हाफिजले सर्वाधिक ८४ रन बनाए।यस्तै आजमले ६३ रन बनाउँदा कप्तान अहमेदले ५५ रन जोडे।

इमाम उल हकले ४४ रन जोड्दा फकर जमानले ३६ रन जोडेका थिए।

इंग्ल्याण्डका क्रिस वोक्स र मोइन अलीले समान ३-३ विकेट लिएका थिए। मार्क वुडको खातामा २ विकेट हात पर्‍यो।

यो जितसँगै पाकिस्तानले २ खेलबाट २ अंक जोड्दै अंक तालिकाको छैठौ स्थानमा उक्लिएको छ।

पाकिस्तान यसअघि पहिलो खेलमा वेष्ट इण्डिजसँग फराकिलो अन्तरमा पराजित भएको थियो।

इंग्ल्याण्डको यो पहिलो हार हो। पहिलो खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै विजयी सुरूवात गरेको थियो। इंग्ल्याण्ड पनि २ खेलबाट २ अंक जोड्दै अंक तालिकाको चौंथो स्थानमा छ।

प्रकाशित मिति: : 2019-06-04 00:01:26

प्रतिकृया दिनुहोस्