विश्वकपमा अष्ट्रेलियाको विजयी सुरूवात, अफगानिस्तान ७ विकेटले पराजित

म्यान अफ दि म्याच डेभिड वार्नर

अफगानिस्तानमाथि ७ विकेटको सहज जित निकाल्दै अष्ट्रेलियाले इंल्याण्ड र वेल्समा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताम विजयी सुरूवात गरेको छ।

अफगानिस्तानले दिएको २०८ रनको लक्ष्य उपाधिको प्रमुख दाबेदार अष्ट्रेलियाले मात्र ३ विकेट गुमाएर ३४.५ ओभरमा पुरा गर्‍यो।

अष्ट्रेलियाको सहज जितमा डेभिड वार्नर र कप्तान आरोन फिन्चले अर्धसतकीय इनिङ्स खेले।

वार्नरले उत्कृष्ट पारी खेल्दै ८९ रन बनाए। उनले ११४ बलमा ८ चौका प्रहार गर्दै नटआउट रहे।

यसअघि ओपनर फिन्चले ६६ रन बनाए। ४९ बल खेलेका कप्तान फिन्चले ४ छक्का र ६ चौका प्रहार गरेका थिए।

उसमान ख्वाउजाले १८ रन बनाउँदा ग्लेन म्याक्सवेल ४ रनमा अभिजित रहे।

अफगानिस्तानका लागि राशिद खान, गुलाबदिन नाइब र मुजिब उर रहमानले १-१ विकेट लिए।

यसअघि ब्रिस्टलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ३८.२ ओभरमा अल आउट हुँदै २ सय ७ रन बनाएको थियो।

अफगानिस्तानका लागि नजीवुल्लाह जादरानले अर्धसतकीय पारी खेले।  ४९ बल खेलेका उनले २ छक्का र ७ चौका सहित ५१ रनको महत्वपूर्ण योगदान दिएका थिए।

तल्लो क्रममा लेग स्पिनर राशिद खानले ११ बलमा २ चौका र ३ छक्का सहित २७ रन बनाउँदा मुजिब उर रहमानले १३ रन जोड्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।

ओपनर मोहम्मद शहजाद शून्यमा आउट हुँदा अर्का ओपनर हज्रतुल्लाह जजाई पनि शून्यमै आउट भएका थिए।

हशमतुल्लाह शाहिदीले १८ रन जोड्दा रामत शाह ४३ रनमा क्याच आउट भए।

अर्का भरपर्दा ब्याट्समेन मोहम्मद नाबी ७ रनमा रन आउट हुँदा कप्तान गुलवदीन नाइब र नजीवुल्लाह जादरानले ८३ रनको महत्वपूर्ण साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल बनाए।

कप्तान नाइबले ३३ बलमा ४ चौका र १ छक्का सहित ३१ रन जोडेका थिए।

अष्ट्रेलियाका लागि एडम जम्पा र प्याटकमिन्सले समान ३ विकेट लिए । मार्कस स्टोइनिस २ र मिचेल स्टार्कको नाममा १ विकेट रह्यो।

प्रकाशित मिति: : 2019-06-02 00:14:57

प्रतिकृया दिनुहोस्