पछिल्लो एक वर्षमा कालीमार्सी धानको लोकप्रियता ह्वात्तै बढ्यो। कर्पोरेट हाउसको ठूलो खालको लागानी बिना कालीमार्सीको ब्रान्डिङ भयो। बजारमा पूर्ति गर्नै नसक्ने गरि माग बढेपछि यसको महत्त्व पनि बढ्यो।
श्रम अनुसारको प्रतिफल नमिल्ने भएपछि बिस्तारै धानखेतीबाट अन्य व्यवासयिक खेतीपातीमा लागेका किसानलाई कालीमार्सीको ब्राण्डिङले तानेको छ। माग बढेसँगै मूल्य पनि बढेपछि धान खेती पनि व्यवसायिक गर्न सघाउ पुग्ने गरि किसानले बुझेका छन्। र स्थानीय सरकारले पनि चासो देखाउँदै आएका छन्।
यसैबीच जेठ १४ गते विश्वको अग्लो स्थान छुमचोरमा, पातरासी गाउँपालिकाको आयोजनामा एउटा भव्य रोपाइँ महोत्सव गरि मार्सीधान रोपाइँ गरियो। त्यस्तै तातोपानी गाउँपालिकाले ऐतिहासिक लाछु जिउलोमा आउँदो जेठ २५ गते तामझामका साथ रोपाइँ गर्ने घोषणा नै गरिसकेको छ।
यी मध्येको एक महत्त्वपूर्ण जिउलो हो चन्दननाथ गुठिको स्वामित्वमा रहेको शेरा जिउलो। बाबा चन्दननाथले कालीमार्सीको सफलताका साथ परिक्षण गरेपछि चन्दननाथ मन्दिरमा उनको पूजापाठमा धान आवश्यक पर्ने भएकाले शेरा जिउलोमा उतीबेलैदेखि धान खेती गर्न लागिएको जुम्ला खलंगाका पूर्णसिंह कठायत बताउँछन्।
बिगतमा गुठी संस्थानले गाउँघरका किसान र विद्यालयहरुबाट सहयोग मागेर धान रोपाइँ गर्दै आएको थियो।
यो वर्ष शेरा जिउलोमा धान रोप्ने कार्यको अगुवाइ चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले गर्यो। रोपाइँमा चन्दननाथ नगरपालिकाकि मेयर कान्तिका सेजुवाल, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, चन्दननाथ माविका शिक्षक, पत्रकार लगायतले सहभागि थिए।
रोपाइँमा सहभागि मेयर सेजुवाले खुसी हुँदै भनिन्, 'यस पाली शेरा जिउलाको रोपाइँ ऐतिहासिक भएको छ । यसले कालीमार्सीलाई व्यापक बनाउन र किसानलाई उत्साहित हुन सहयोग पुग्नेछ।’
शेरा जिउलोमा धान रोप्नुको ऐतिहासिक तथा धार्मिक महत्व छ। शेरा जिउलोमा धान रोपिनु जिल्लाभर धान रोप्ने माहोल बन्नु हो। त्यस्तै शेरा जिउलोमा राम्रो धान फलेको वर्ष जिल्लाभरि राम्रो धान फल्ने जनविश्वास छ। भर्मभिरू समाजमा यस्ता गतिविधि हुनेले किसानहरुको आत्मविश्वास बलियो हुने चन्दननाथ गुठि संस्थानका अध्यक्ष कृष्ण रोकायाको तर्क छ।
जीवनमै पहिलो पटक धान रोप्ने मौका पाएकोमा मख्ख पर्दै प्रजिअ बञ्जाडेले किसानहरुलाई उत्पादन बढाउनलाई आग्रह गर्दै भनिन्, ‘मार्सीधानका कारण जुम्ला लोकप्रिय बनिरहेको छ। यसको महत्व बुझेर संरक्षण तथा विस्तार गर्ने अभियानको लागि तयार रहनुपर्छ ।'
यद्यपि कालीमार्सीको उत्पादन बढाउन थप अनुसन्धानको आवश्यता खड्किएको छ ।