आर्सनललाई हराउँदै चेल्सी युरोपा लिग च्याम्पियन

तस्बिरः एजेन्सी

आर्सनललाई हराउँदै इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

बुधबार अजरबैजानको राजधानी बाकुमा भएको फाइनलमा चेल्सीले आर्सनललाई ४-१ गोल अन्तरमा हराउँदै दोस्रो पटक युरोपा लिगको उपाधि जितेको हो।

चेल्सीको फराकिलो जितमा सम्भवत अन्तिम खेल खेलिरहेका बेल्जियन फरवार्ड इडेन हजार्डले दुई तथा ओलिभर जिरुड र पेड्रो रोड्रिग्वेजको समान १ गोल गरे । आसर्नलका एलेक्स इओवीले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा गोल वर्षा भएको थियो। खेलको ४९ मिनेटमा ओलिभर जिरूडले गोल गर्दै चेल्सीलाई सुरूवाती अग्रता दिलाए।

६० मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। त्यसको पाँच मिनेट पछि चेल्सीले पेनाल्टीमार्फत गोल गर्दै अग्रता तेब्बर पार्‍यो।

आर्सनलका गोलकिपर पिटर चेकले फल गरेपछि चेल्सीले ६५ औं मिनेटमा पेनाल्टी पाएको थियो। पेनाल्टीमा हजार्डले गोल गरेका हुन्।

खेलको ६९ औं मिनेटमा इमोवीले गोल गर्दै आर्सनललाई खेलमा फर्काउने कोशिस गरे।

लगत्तै हजार्डले व्यक्तिगत दोस्रो गोल गर्दा खेलमा चेल्सीले ४-१ को अग्रता बनायो।

यो जितसँगै चेल्सीका प्रशिक्षक माउरिजियो सारीले पहिलो उपाधि जितेका छन्।

यता चेल्सीसँग फराकिलो हार व्यहोरेको आर्सनलको च्याम्पियन्स लिगमा छनोट हुने अभियान सकिएको छ।

 

प्रकाशित मिति: : 2019-05-30 07:53:19

प्रतिकृया दिनुहोस्