अमेरिकी राजदूतसँग गफगाफ: हुन्छ वा हुदैन ? सोमबार नै थाहा हुन्छ !

अमेरिकी राजदूत र्‍यान्डी बेरी र परराष्ट्र सचिव शंकरदाश वैरागी । तस्बिर : बीएल स्केच

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सोमबारदेखि सुरु गर्न लागेको ‘अमेरकी राजदूतसँग गफगाफ’ कार्यक्रमको भविष्य अन्यौलग्रस्त भएको छ।परराष्ट्र सचिव शंकरदाश वैरागीले कुनै पनि राजदूतले यसरी प्रत्यक्ष संवाद गर्न नमिल्ने भनेपछि पछिल्लो परिस्थिति सिर्जना भएको हो।   

यसअघि  राजदूत बेरीले आगामी सोमबारदेखि नेपाली समाजसँग प्रत्यक्ष संवाद गर्ने भन्दै फेसबुक पेजमा भिडियो सन्देश प्रसार गरेका थिए।त्यसले सामाजिक सञ्जालमा ठूलो वहस सिर्जना गरेको थियो।

यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको  बताउँदै परराष्ट्र सचिव वैरागीले भने - 'यस बारेमा अमेरिकी राजदूतावासबाट कुनै पूर्वजानकारी आएको छैन। यस बारेमा मन्त्रालयले सोधखोज गर्नेछ ।’

तर, दूतावासकी प्रवक्ता एन्डी डे अरमेन्टले भने परराष्ट्र सचिवको कुरालाई खासै गम्भीरताका साथ लिएजस्तो गरिनन्। उनले भनिन्- ‘पब्लिक डिप्लोमेसी भनेको जनतासँग संवाद गर्नु हो । राजदूतले आफूलाई लागेको जवाफ दिनुहुनेछ । सूचना दिनुहुनेछ।कूटनीति भनेको यही हो ।’

तर, एकजना पूर्वराजदूत केदारभक्त माथेमाले भने यस्तो व्यवहार कूटनीतिक मर्यादाबाहिर हुन सक्ने टिप्पणी गरे। उनले भने- 'यो कूटनीतिभन्दा बढी नै हो।'

अहिलेसम्मको स्थिति हेर्दा परराष्ट्र मन्त्रालय राजदूतलाई गफ गर्न छुट नदिने पक्षमा देखिएको छ भने अमेरिकी राजदूताबास गफगाफ गरेरै छोड्ने मुडमा देखिन्छन्। अब के हुन्छ ? त्यो चाआहि सोमबार नै थाहा हुन्छ।
प्रकाशित मिति: : 2019-05-23 05:39:36

प्रतिकृया दिनुहोस्