बाल्यकालदेखि नै मलाई हलमा गएर फिल्म हेर्नु र प्रेम गर्नु दुवै गलत काम हो जस्तो लाग्थ्यो। घरपरिवार र स्कुलले वर्जित जो गरेका थिए। केटाकेटी बेलामा परेका केही छापले मस्तिष्कमा स्थायित्व कायम गरेर बस्ने रहेछन्। फिल्म हेर्नै भनेर कट्टु तान्ने उमेरमा परीक्षै हापेर स्कुलबाट भागेको थिएँ। कुमारी हलको गेटमा पुगेर एक अपरिचित मान्छेको सर्टको बाहुला समातेँ। र, पछिपछि हलभित्र छिरेँ। ‘सम्झना’ नामको फिल्म हेरिभ्याएर घर पुग्दा साँझ झमक्क मात्र भएको थिएन, झन्डैझन्डै रेडियो नेपालबाट ‘बालक हराएको सूचना’मा नाउँ आएर चर्चित कसो नभएको।
यसर्थ हलमा गएर सिनेमा हेर्न र प्रेम गर्नबाट यथार्थमा आफूलाई जोगाउन नसके पनि यसको गोपनीयताबारे भने सधैं सजग भइयो। कसैले मलाई प्रेमीका रूपमा पाओस् नपाओस्, एक समय हलहरूले भने मलाई नियमित दर्शकका रूपमा राम्रैसित पाइरहे।
पछि प्रेमिका भइसकेपछि उनलाई लिएर हलमै फिल्म हेर्न गएँ। त्यो बेला मनमा यो विचार मज्जाले आइरहेको थियो, म दुवै गलत काम एकै पटक गरिरहेको छु। यो कुरा अनायास फिल्म हेर्दाहेर्दै बडो भावुक दृश्य आइरहेको बेला दिमागमा आएको थियो, जुन बेला हाँसो रोक्न सकिएन। मेरो पारा देखेर गहभरि आँसु बोकिरहेकी प्रेमिकाले सम्भवतः मेरो व्यक्तित्वमाथि नै प्रश्न गर्ने किसिमको हेराइले हेरेकी हुँदी हुन्।