अफगान विदेशमन्त्रीको राजीनामा स्वीकृत

तस्बिरः एजेन्सी

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले कार्यवाहक विदेशमन्त्री सलउद्दीन रब्बानीले आफ्नो पदबाट दिएको राजीनामाको स्वीकृत गरेका छन् ।

राष्ट्रपति घानीले अफगानिस्तानको संविधानको धारा ६४ बमोजिम रब्बानीको राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपतिका प्रमुख प्रवक्ता सेदिक सिदिक्कीले ट्वीटरमार्फत पुष्टि गरेका छन् ।

‘जमात ए इस्लामी अफ अफगानिस्तान’ पार्टीका नेतासमेत रहनुभएका रब्बानीले बुधबार दिउँसो घानीलाई पत्र पठाएर राजीनामाको घोषणा गरेका थिए । ‘विदेश मामिलासम्बन्धी मन्त्रीको रूपमा पाँच वर्षको सेवापछि मैले आफ्नो पदबाट राजीनामा गरेको छु’ उनले आफ्नो राजीनामा पत्रमा लेखेको बताइएको छ ।

आफूले विदेश मन्त्रीबाट राजीनामा गरे पनि अफगान जनताको सेवामा समर्पित रहने पनि सो पत्रमा बताएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानमा सन् २००१ मा तालिबान शासनको अन्त्यपछि देशले हालैमात्र चौथो पटक राष्ट्रपतिको निर्वाचन सम्पन्न गरेको छ । उक्त निर्वाचनको परिणाम भने अझै सार्वजनिक गरिएको छैन । उक्त निर्वाचनको केही हप्तापछि विदेश मामिलासम्बन्धी मन्त्रीको राजीनामा आएको हो ।

प्रकाशित मिति: : 2019-10-24 16:33:54

प्रतिकृया दिनुहोस्