रिस आगोको लप्काजस्तै हो। धोका पाएजस्तो लाग्यो कि ह्वार्र बल्छ। आफूले पार्किङ गर्न लागेको ठाउँ अरू कसैले ओगटोस् वा कुनै अल्छी सहकर्मीले बेफ्वाँकको काम लगाओस्। दिमाग झनन हुन्छ। माया गरेको मान्छेले मन दुखाए पनि उस्तै भाव आउँछ।
रिस मानिसले अनुभव गर्ने प्राचिन भावनामध्ये एक हो। पशुलाई रिस उठ्छ। केही मन्द निराशादेखि पूर्ण आवेगसम्म। रिसको मात्रा फरक हुन्छ। कति रिस उठ्छ र कस्तो प्रतिक्रिया जनाउँछौं, हाम्रो व्यक्तित्वमा भरपर्छ।
रिस के हो?
लाखौं वर्षको उद्विकाससँगै मानिसको मष्तिष्कमा रिसले स्थायी बास पाएको छ। यसले हामीलाई खतरासँग लड्ने, श्रोतका लागि प्रतिस्पर्धा गर्ने र सामाजिक मुल्यमान्यता लागु गर्ने स्वभाव दिएको छ। यो मष्तिष्कको ‘रिवार्ड सर्किट’मा बसेको छ।
कुनै विशेष परिस्थितीमा के हुन्छ भनेर हामी निरन्तर –प्रायः अर्धचेत – मुल्याङ्कन गरिरहेका हुन्छौं। हामीले सिकेको अपेक्षा र यथार्थबीच तालमेल नमिले हाम्रो मष्तिष्कको ‘रिवार्ड सर्किट’ले खतराको संकेत दिन्छ र ‘अमिगडला’ भनिने एउटा सानो बदामको आकारजत्रो मष्तिष्को क्षेत्र सक्रिय हुन्छ।
रिसले शरीरलाई लड्न वा भाग्न उक्साउँछ। शरीरमा ‘एड्रिनालिन’ र ‘टेस्टोस्टेरोन’ जस्ता ‘स्ट्रेस हर्माेन’ उत्पादन हुन्छ। यसले हामीलाई आक्रामक बनाउँछ। त्यसपछि हामी मुख छाड्छौं कि कसैलाई मुक्का हान्छौं त्यो भने ‘प्रि–फ्रन्टल एरिया’मा भर पर्छ। मष्तिष्कको यो भागले निर्णय र तर्क दिने काम गर्दछ। यसले रिसलाई सामाजिक रूपमा स्वीकार्य तरिकामा प्रस्तुत गर्न लगाउँछ। हामी अधिकांशको मौलिक स्वभावलाई नियन्त्रण गर्दछ।