भुटानको एक शनिबार। जिग्मे दोर्जी वाङचुक नेसनल रेफरल हस्पिटलमा ‘ब्लाडर रिपेयर सर्जरी’ गरेर लोटे छिरिङ भर्खर बाहिरिँदै छन्।
तर, ५० वर्षीय छिरिङ सामान्य चिकित्सक होइनन्। उनी हिमाली अधिराज्य भुटानका प्रधानमन्त्री पनि हुन्।
‘मेरा लागि यो तनावबाट मुक्ति हो,’ छिरिङले भने। उनी अघिल्लो वर्ष प्रधानमन्त्री निर्वाचित भएका हुन्। सन् २००८ मा राजतन्त्र अन्त्य भएपछि भुटानमा भएको यो तेस्रो लोकतान्त्रिक निर्वाचन हो। भुटानको जनसंख्या सात लाख पचास हजार छ।
‘केही गल्फ खेल्छन्, केही आर्चरी गर्छन्। मलाई भने शल्यक्रिया गर्न मनपर्छ। म यहाँ सप्ताहन्तमा मात्रै आउँछु,’उनले भने। पुरानो ‘ल्याब कोट’ र ‘क्रक्स’ लगाएर व्यस्त करिडोरमा हिँड्दा अस्पतालका कर्मचारीले आँखासमेत झिम्क्याउँदैनन्। नर्स र अस्पतालका सहायकहरू सधैंझैं काम गरिरहन्छन्।
बौद्ध अधिराज्य धेरै कुरामा फरक छ। आर्थिक वृद्धिभन्दा खुसीलाई बढी प्राथमिकता दिन्छ। वातावरणको संरक्षण कुल राष्ट्रिय खुसीको एउटा आधार हो। भुटान ‘कार्बन नेगेटिभ’ देश हो। देशको ६० प्रतिशत भूभाग जंगल हुनुपर्छ भनेर देशको संंविधानमै लेखिएको छ। यहाँ पर्या–पर्यटन पनि वृहत छ।
सिजनमा प्रति आगन्तुकबाट दैनिक दुई सय पचास अमेरिकी डलर शुल्क संकलन गरिन्छ। राजधानी थिम्पुमा ट्राफिक बत्ती छैनन्। सुर्तीको बिक्री वितरण निषेध छ। सन् १९९९ देखि मात्रै टेलिभिजन प्रसारण सुरू गरिएको हो।
स्थानीय मदिरा उपलब्ध हुने धनुकाँड प्रतिस्पर्धामा समग्र राष्ट्र रमाउँछ। अनिष्ट हटाउन घरमा पुरूष जननेन्द्रीयको चित्र बनाइएको हुन्छ। तर, ‘ल्यान्ड अफ द थन्डर ड्रागन’ का आफ्नै समस्या छन्। तीमध्ये भ्रष्टाचार, ग्रामिण गरिबी, बेरोजगार युवा र आपराधिक गिरोह प्रमुख हुन्।
छिरिङले बंगलादेश, जापान, अष्ट्रेलिया र अमेरिकाबाट तालिम लिएका छन्। उनले सन् २०१३ देखि राजनीति सुरू गरेका हुन्। त्यही वर्ष सम्पन्न निर्वाचनमा उनको दललाई सफलता हात परेन।
निर्वाचनमा हार बेहोरेपछि चिकित्सकहरूको एउटा टोली नेतृत्व गर्दै सुदूर गाउँहरूमा निःशुल्क औषधि उपचार गर्ने राजकीय भ्रमणमा सहभागी हुन भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङचुकले छिरिङलाई निर्देशन दिए।
अहिले उनी प्रधानमन्त्री छन्। उनी शनिबार बिरामी जाँच्छन्। बिहीबार बिहान प्रशिक्षार्थी र चिकित्सकलाई चिकित्सकीय सल्लाह दिन्छन्। आइतबार उनको पारिवारिक समय हो।
प्रधानमन्त्रीको कार्यालयमा एउटा ‘ल्याब कोट’ उनको कुर्सी पछाडि झुण्डिएको हुन्छ। यसले स्वास्थ्य स्याहारमा केन्द्रित हुने भन्दै निर्वाचनताका गरेको प्रतिबद्धता स्मरण गराउने उनी बताउँछन्। भुटानमा स्वास्थ्य स्याहारका लागि प्रत्यक्ष शुल्क बुझाउनु पर्दैन। तर, स्वास्थ्य उपचारमा भएका केही महत्वपूर्ण प्रगतिबाहेक अझ धेरै काम गर्न बाँकी रहेको छिरिङ बताउँछन्।
औसत आयुमा ठूलो सुधार, शिशु मृत्युदर न्यूनिकरण र धेरै संक्रामक रोगको उन्मूलन भए पनि जीवनशैलीसँग सम्बन्धित मद्यपान र महुमेह जस्ता रोग बढ्दो छ। ‘अब हामीले अन्य स्वास्थ्य स्याहारमा ध्यान केन्द्रित गर्दै जानुपर्छ,’ छिरिङले भने।
पाँच घण्टा लगाएर ब्लाडरको शल्यक्रिया गराएका बिरामी ४० वर्षीय भुमथाप परिणामबाट सन्तुष्ट भएको बताउँछन्। ‘देशकै उत्कृष्ट डाक्टरमध्ये एक हाम्रो प्रधानमन्त्रीबाट शल्यक्रिया गराएको छु। म ढुक्क छु,’ उनले भने।
राजनीति डाक्टर हुनुभन्दा भिन्न रहेको प्रधानमन्त्री छिरिङले बताए। ‘अस्पतालमा म बिरामीको परीक्षण र उपचार गर्छु। सरकारमा म नीतिको परीक्षण गर्छु र तिनलाई ठीक गर्ने प्रयास गर्छु,’ उनले भने,‘बाँचेसम्म म यसलाई निरन्तरता दिन्छु। मलाई यहाँ दिनहुँ आइरहुँजस्तो लाग्छ।’
राजधानीमा निजी गाडी चलाएर काममा फर्किदा उनलाई हुटहुटी चल्छ। ‘सातामा काम सुरू गर्दा गाडी दायाँ मोडेर अस्पताल जाउँजस्तो लाग्छ,’उनी भन्छन्।