अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीलाई अर्को राजदूत नियुक्त नहुँदासम्म वासिङ्टन डीसीमै रहने व्यवस्था ओली सरकारले गरिदिएको छ। यसबाट उनले अर्को कार्यकाल थप्नका लागि गरेको लविङ तत्कालका लागि टरे पनि अमेरिकाको नेपाली डायस्पोराको नयाँ राजदूतको अनुहार हेर्ने चाहना भने केही समयका लागि टरेको छ।
अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीको म्याद थप गरिएको छ। अर्को राजदूत नियुक्त नभएसम्मका लागि उनको म्याद थपिएको हो ।
यससम्बन्धी जानकारी सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले दिएका हुन्। बिहिबार मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिने नियमित पत्रकार सम्मेलनमा मन्त्री बासकोटाले यस्तो जानकारी दिएका हुन्।
मे ५ २०१५ मा चार वर्षका लागि राजदूतमा नियुक्त डा. कार्कीले मे १८ देखि कार्यभार सम्हालेका थिए।
उनलाई एमालेसहितको तत्कालिन सुशील कोइरालाको कांग्रस नेतृत्वको सरकारले तत्कालीन नेकपा एमालेको कोटाबाट अमेरिकाका राजदूत नियुक्त गरिएको थियो।
केही समयअघि मात्र केपी शर्मा ओलीको सरकारले उनलाई मन्त्रीसरहको सुविधा दिने निर्णय गरेको थियो। उनले यसै वर्ष राष्ट्रपतिबाट तक्मा पनि पाएका थिए।
केही समयदेखि दोस्रो कार्यकाल थप्नका लागि लविङ गरिरहेका कार्कीको त्यो प्रयास भने असफल भएको छ। अर्को राजदूत नियुक्त नभएसम्मका लागि उनलाई कामचलाउको अवस्थामा मात्र राखिएको छ।
बिलासी जीवनका पर्याय बनेका राजदूत कार्की अमेरिकामा राजदूत निवास खरीद प्रकरणलगायतका विवादमा मुछिएका छन्। उनको कामबाट नेपाल अमेरिका सम्बन्धमा कुनै उल्लेखनीय उपलव्धी हासिल हुन सकेकाे छैन। अमेरिकामा रहेको नेपाली डायस्पोराले पनि गौरव अनुभूति गर्न पाएको छैन।