बेइजिङ - यी हाँसे पनि सुख छैन, यिनले बिर्से नि आमा भनी।’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘गौरी’ शोक काव्यमा लेखेका उल्लिखित हरफ चीनमा हुर्किरहेका बालबालिकाकासँग ठ्याक्कै मेल खान्छ। अबोध बालबालिका हाँसे भने उनका अभिभावकले ठम्याउनेछन्– यिनले आमालाई बिर्सिए। कहिलेकाहीं उनीहरु रोए फेरि अभिभावकले सम्झने छन्– यिनले आमालाई सम्झिए।
आफ्नी आमाको बाटो विशाल हिमालले छेकेको छ भन्ने ती अबोध बालबालिकालाई थाहा छैन। आमाले छाडेर गएको डेढ वर्षभन्दा बढी भइसकेकाले उनीहरुको स्मृतिमा मातृ छाया धुमिल बन्दै गएको हुन सक्छ। चितवन (नेपाल) कि मेरिना गुरुङ (परवर्तित नाम) सात वर्ष पहिले चीनको भित्री मंगोलिया प्रान्तका लिउसँग बिहे गरेर यहाँ आएकी थिइन्। उनले पति लिउबाट माया र परिवारबाट राम्रै सम्मान पनि पाएकी थिइन्।