प्रधानमन्त्री ओलीले सांसदका प्रश्नलाई कुन्ठा र निम्छरा भनेपछि...[भिडियो]

काठमाडौं– नीति तथा कार्यक्रम पास गर्ने कार्यसूचीमा रहेको प्रतिनिधिसभा स्वभाविक गतिमा अघि बढिरहेको थियो।

सांसदहरुको प्रश्नको जवाफ दिन  प्रधानमन्त्री केपी शर्मा ओली मञ्चमा पुगे।

मञ्चमा पुगेपछि प्रधानमन्त्री ओलीले भने, ‘प्रश्न र जिज्ञासाका लागि धन्यवाद। आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिका वास्ता नगरेर प्रश्नहरुको उत्तर दिन्छु।

आफ्ना प्रश्नहरुलाई कुन्ठा, आक्रोश र निम्छरा अभिव्यक्तिको संज्ञा दिएपछि प्रतिपक्षी दलका सांसदहरु आक्रोशित भए। उनीहरुले आपत्ति जनाए।

ओलीले घुरेर हेरे।

सांसद मीनबहादुर विश्वकर्माले माइक लिएरै प्रधानमन्त्री ओलीको अभिव्यक्ति विरोध गर्दै संसदीय मर्यादा उलंघन भएको बताए। कांग्रेसका अरु सांसदहरुले पनि सभामुखको ध्यानाकर्षण गराए। 

सबै उठेर नाराबाजी गर्न थाले। सभामुखले आफ्नो ध्यानाकर्षण भएको अवगत गराउँदै जवाफ सुन्न आग्रह गरे। 

फेरि प्रधानमन्त्री ओलीले रुखो बोली प्रयोग गरे, ‘प्रश्नको सीमा र मर्यादा हुन्छ।’

विरोध भइरह्यो। 

सभामुखले सांसदलाई भने, ‘ध्यानाकर्षण भनेको बुझ्नुहोस्।’ 

सांसद मीनेन्द्र रिजालले कड्किए, ‘प्रधानमन्त्री सम्माननीय हुनुहुन्छ। हामी सम्मान गर्छौं। यो शब्द संसदीय अभिलेखबाट हटाइनुपर्छ।’

सांसदहरुले रुलिङ गर्न आग्रह गरे। संसदको गरिमा कायम राख्न जरुरी भएको बताए। आग्रह गरे, ‘सभामुख महोदय रेकर्ड खोलेर सुनियोस्। कुन प्रकारका शब्द प्रयोग गरिएका छन्।’

ओलीले फेरि धम्क्याए, ‘तपाईंहरुलाई आफ्ना प्रश्नका जवाफ चाहिएको छ कि छैन?’ उनले फेरि भने, ‘प्रश्नको जवाफ चाहिएको छ कि छैन?’

प्रकाशित मिति: : 2019-05-07 16:37:31

प्रतिकृया दिनुहोस्